बेनी
माघ ११
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको डबल सर्किट लाइनको परीक्षण प्रसारण सफल भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ३९.६ किलोमिटर लामो प्रसारण लाइनको परीक्षण प्रसारण शनिबार सफल भएको कालीगण्डकी करिडोर प्रसारण आयोजनाले जानकारी दिएको छ । शुक्रबार रातिदेखि शुरु भएको चार्ज गर्ने काम २४ घण्टामा सफल भएको हो ।
आयोजनाका सहायक निर्देशक महादेव भट्टराईले भौतिक संरचना निर्माण र आन्तरिक परीक्षण सकेर सबस्टेशन चार्ज शुरू गरिएको र तोकिएको समयभित्रै चार्जिङ प्रक्रिया सफल भएको जानकारी दिए ।
म्याग्दीको दाना सबस्टेशनअन्तर्गत हाल पाँच मेगावाट क्षमताको घलेम्दी खोला र १३.४ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजना चालु छन् । ४२ मेगावाट क्षमताको मिस्ट्रिखोला परीक्षण उत्पादनको तयारीमा छ । सबस्टेशनको ट्रान्सफर्मर चार्ज र परीक्षण सफल भएपछि केन्द्रीय ग्रिडमा जोडिने आयोजनाले जनाएको छ ।
खुर्कोटस्थित सबस्टेशन चार्जमा उपस्थित भएका नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयका निर्देशक तारा प्रधानले सबस्टेशन चार्ज सफल भएकोमा खुशी व्यक्त गर्दै विद्युत् कनेक्टिभिटीका लागि यो निकै महत्वपूर्ण उपलब्धि भएको विचार व्यक्त गरेका थिए ।
दाना–खुर्कोट प्रसारण लाइन सम्पन्न गर्न उक्त क्षेत्रमा एक सय १० वटा टावर निर्माण गरिएको आयोजनाले जनाएको छ ।
म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न एशियाली विकास बैंकको सहयोगमा प्रसारण लाइनका साथै दाना र खुर्कोटमा सबस्टेशन निर्माण भएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताए । प्रसारण लाइन र सबस्टेशन बनाउन सन् २०१६ मा दुई अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो ।