बेनी
माघ १७
म्याग्दी सदरमुकाम बेनीमा केन्द्रीय कार्यालय रहेको शालिग्राम लघुवित्त वित्तीय संस्थाले स्थापनाको पहिलो वर्षमै ६ करोड लगानी गरेको छ । शनिबार बेनीमा आयोजित प्रथम साधारण सभामा उक्त जानकारी गराइएको हो ।
म्याग्दीसँगै पर्वत, कास्की, तनहुँ र नवलपरासीमा एक एकओटा शाखामार्फत् कारोबार गर्दै आएको लघुवित्तले ६ करोड १७ लाख लगानी गरी १ करोड ६ लाख रुपैयाँ बचत गर्न सफल भएको कार्यक्रममा जानकारी गराइएको हो ।
साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विनोद केसीले लघुवित्त संस्थाले ऋणीहरुबाट चर्को ब्याज उठाएको गुनासा सुनिने गरेको सन्दर्भमा शालिग्राम लघुवित्तले त्यतातिर ध्यान दिनुपर्ने विचार व्यक्त गरेका थिए । “विद्यमान ऐन, कानुनअनुसार संस्था सञ्चालन गर्न आवश्यक छ,” लघुवित्तका शेयर सदस्यसमेत रहेका केसीले भने, “आमनागरिकलाई गरिवीबाट माथि उठाउने राष्ट्रिय अभियानमा लघुवित्त पनि सहयोगी बन्न आवश्यक छ ।”
४० जना शेयर सदस्य रहेको शालिग्राम लघुवित्तको १ करोड ६८ लाख १७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको र निकट भविष्यमै जारी पुँजीको ३३ प्रतिशत शेयर सर्वसाधारणको लागि निष्कासन गरी २ करोड ५१ लाख पु¥याउने लक्ष्य रहेको संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले जानकारी दिए ।
सभामा अध्यक्ष थापाले वार्षिक प्रगति प्रतिवेदन, लेखा समिति संयोजक ज्ञानेन्द्र सुवेदीले लेखापरीक्षण प्रतिवेदन र प्रमुख कार्यकारी अधिकृत मनोज निरौलाले आय व्यय विवरण प्रस्तुत गरेका थिए ।
थापाको अध्यक्षतामा सम्पन्न साधरणसभाको सञ्चालन कम्पनी सचिव कुशल पुरीले गरेका थिए ।