बेनी
माघ १७
काठमाडौं उपत्यकाबाहिरकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मानिने आहा रारा गोल्डकपको १९ औं संस्करण चैतमा आयोजना हुने भएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक सहारा क्लबले उक्त जानकारी गराएको हो ।
प्रतियोगिताका लागि समय तालिका सार्वजनिक गरेसँगै कोरोना महामारीपछि मोफसलस्तरबाट राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्ने सहारा पहिलो क्लब बनेको छ । “क्रिकेट लगायत अन्य खेलहरु सञ्चालन भइरहेका छन् । त्यस्तो अवस्थामा हामीले एन्फासँग अनुमति माग्यौं र स्वीकृत भयो,” क्लबका अध्यक्ष केशव थापाले भने ।
१२ दिनसम्म चल्ने प्रतियोगितको यस संस्करणमा कम्तिमा १२ टिम सहभागी गराउने गरी योजना बनाइरहेको क्लबका अध्यक्ष केशव थापाले जानकारी दिए ।
१६ हजार दर्शक अटाउन सक्ने पोखरा रंगशालाको हालको क्षमता छ । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधा दर्शकमात्रै राखेर प्रतियोगिता सञ्चालन गर्न भनेकाले आफूहरुले सोही अनुसार तयारी गरिरहेको अध्यक्ष थापाको भनाइ छ ।
प्रतियोगिता सञ्चालनका क्रममा गर्न १ करोड ३० लाख आम्दानी र १ करोड १ लाख रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । क्लबले पुरस्कार रकम भने सार्वजनिक गरेको छैन । प्रतियोगितामा विदेशी टिम, विभागीय टिम, ए डिभिजन क्लब, मोफसलका क्लब र आयोजक सहारा क्बलको टिम सहभागी हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए ।
सहारा क्लबले सञ्चालन गरिरहेको सहारा फुटबल एकेडेमीमा हाल १४ जिल्लाका २४ जना बालबालिका आश्रित छन् ।
क्लबले पोखरा–१७ दोबिल्लामा फुटबल एकेडेमी स्थापना गरेको छ ।