बेनी
पुस २७
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदातालाई पायक पर्ने ठाउँमा मतदान केन्द्र निर्धारण गर्न निर्देशन दिएका छन् । मतदाता नामावली अद्यावधिक, मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको अनलाइन प्रविधिमार्फत् जिल्ला निर्वाचन अधिकारीलाई प्रशिक्षण दिँदै प्रमुख निर्वाचन आयुक्तले उक्त निर्देशन दिएका हुन् ।
मतदाताको हितलाई ध्यान दिई सुरक्षित, पहुँचयोग्य र विवादरहित रुपमा पायक पर्ने ठाउँमा मतदानस्थल तथा केन्द्र निर्धारण गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्तको भनाइ थियो । मतदान स्थलको पुनरावलोकन र त्रुटिरहित मतदाता नामावली प्रकाशन गर्ने कार्यमा विशेष चनाखो हुन उनले जिल्ला निर्वाचन अधिकारीहरुलाई सुझाव दिएका हुन् ।
अनलाइन सम्बोधनका क्रममा थपलियाले भने, “स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपले निर्वाचन गर्नु निर्वाचनका पूर्वशर्त हुन् । सबैले यसको पालना गर्न आवश्यक छ ।” सरकारले निर्वाचन घोषणा गरेको मिति अर्थात् पुस ५ गतेसम्म १८ वर्ष उमेर पूरा भएकाहरुलाई मतदाताको रुपमा नाम दर्ता गराउन सम्बन्धमा कुनै द्विविधामा नपर्न थपलियाले आग्रह गरे ।
मतदाता नामावली अद्यावधिक र मतदान स्थल तथा केन्द्र पुनरावलोकनमा सरोकारवालासँग प्रभावकारी समन्वय गर्न सुझाव दिँदै उनले जिल्ला निर्वाचन अधिकारीलाई सक्रिय भई कानूनी व्यवस्थाअनुसार प्रक्रिया अगाडि बढाउन सल्लाह दिएका थिए ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतदाता दर्ता अद्यावधिक, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकनमा अवलम्बन गर्नुपर्ने व्यावहारिक पक्ष तथा सरोकारवालाको समन्वयको आवश्यकताका विविध पक्षबारे जानकारी गराएका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचनको मिति तोकिसकेकी छिन् ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई शुरु भइरहँदा एकातिर नेपाली राजनीति संसद पुनर्स्थापनाको पक्ष र विपक्षमा विभाजित बनेको छ भने सरकारी घोषणालाई आधार मानेर निर्वाचन आयोगले आफ्नो तयारी शुरु गरेको छ ।
