Notification

×

Iklan

Iklan

कस्तो छ बेनीबजार जोगाउने तटबन्ध ? (फोटो फिचर)

Sunday, January 31, 2021 | January 31, 2021 WIB Last Updated 2021-12-30T03:24:13Z

बेनी

माघ १८




नेपालकै जोखिममध्ये मानिने म्याग्दी सदरमुकाम बेनीबजारको संरक्षणमा ढिलाइ भएको भन्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । ‘बेनीबासी नागरिकहरु’को तर्फबाट प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा माघ महिना बित्न लाग्दासमेत बजार संरक्षणको काम शुरु नभएकोमा चासो व्यक्त गरियो । 




नेपाल सरकारका नाउँमा बुझाइएको ज्ञापनपत्र मा कालीगण्डकी र म्याग्दीको कटानबाट बेनी बजारलाई जोगाउन अविलम्ब काम शुरु गर्न अनुरोध गरिएको छ  । ज्ञापनपत्र वाचन गर्दै म्याग्दी बुहुमुखी क्याम्पसका सहप्राध्यापक रामजीप्रसाद सुवेदीले माघ महिना सकिनै लाग्दा पनि तटबन्ध निर्माण शुरु नभएपछि शङ्का उत्पन्न भएको बताए । “तत्काल काम शुरु नगर्ने हो भने आगामी वर्ष थप क्षति पुग्ने निश्चित जस्तै छ,” गणेशटोलका स्थानीय बासिन्दासमेत रहेका सुवेदीले भने, “निर्माण भैसकेको तटबन्धसमेत गत वर्षको बाढीले पूर्णरुपमा क्षति भैसकेको अवस्थामा नयाँ निर्माणमा ढिलाई गर्दा अकल्पनीय क्षति हुन सक्छ ।”





म्याग्दी र कालीगण्डकीको सम्भावित कटानबाट म्याग्दी सदरमुकाम र पर्वत बेनीमा तटबन्ध निर्माण गर्न पछिल्लो केही वर्षयता सरकारले बजेट विनियोजन गर्दै आएको छ । तर, गुरुयोजनाको अभाव र उपभोक्ता समितिमार्फत् हुने काममा गुणस्तर सुनिश्चित हुन नसक्दा खासगरी म्याग्दीतर्फको तटबन्ध कामचलाउ बनिरहेको अवस्था छ । 




बेनी नगरपालिका–७, मङ्गलाघाटका स्थानीय एवं नागरिक अगुवा सुवासकुमार श्रेष्ठले बेनीको समस्या समाधान गर्न सरकारले थोरै बजेट पठाएर झारा टार्ने प्रयास गरिरहेको बताए । “गुरुयोजना अनुसार काम गर्न प्रत्येक वर्ष पाँच करोडका दरले बजेट छुट्ट्याउनुपर्छ,” श्रेष्ठले भने । 




ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सदरमुकाम बेनी बजारलाई प्राकृतिक प्रकोपको जोखिमबाट छुटकारा दिलाउन खास विधि निर्माण हुनुपर्छ भन्ने प्रशासन कार्यालयको धारणा अवगत गराएका थिए।

“बेनी बजारको संरक्षण अब टुक्रे योजना वा काम गराइबाट हुँदैन,” प्रजिअ अधिकारीले भने, “यसका लागि गुरुयोजना र सोही अनुसारको बजेट व्यवस्था हुनुपर्छ ।” 




म्याग्दी र पर्वत बेनीको संरक्षणका लागि चालु आर्थिक वर्षमा ५ करोड विनियोजन भएकोमध्ये म्याग्दीका लागि ३ करोड र पर्वत बेनीका लागि २ करोड बजेट छुट्टिएको पनि अधिकारीको भनाइ थियो । 


सरकारले बजेटको व्यवस्था गरे पनि सदरमुकाम बेनी बजार संरक्षणको काम अझै शुरु हुनसकेको छैन । यसबारेमा कालञ्जरले स्थगलगत भ्रमण गरिहेर्दा पर्वत बेनीतर्फ जलजला–३, रातो पैह्रोदेखि बेनीको दोबिल्लासम्म तुलनात्मकरुपमा राम्रो किसिमले ग्याबियन जाली भर्ने, मेसिनरी पर्खाल निर्माण भएको पाइयो । तर, म्याग्दी खण्डमा भने काम शुरु भएकै छैन । बेनी नगरपालिका–६, रातो पैह्रादेखि सदरमुकाम बेनीको दोबिल्लासम्म कम्तीमा दर्जन ठाउँमा साविकको तटबन्धमा क्षति पुगेको, मेसिनरी पर्खाल भत्किएको र ग्याबियन जाली बगाएर भ्वाङ परेको देख्न सकिन्छ । पर्वत बेनीतिर मेसिनरी पर्खाल निर्माणका लागि निर्माण सामग्री निर्माण स्थलमै भण्डारण गरिएको अवस्थामा म्याग्दीतिर भने संरक्षणको कामको केही सुरसार छैन ।




शायद यही अवस्था देखेर हुनसक्द संविधान सभाका सभासद रेशमबहादुर बानियाँले फेसबुकको भित्तामा लेखे, “पार्टीको झण्डा बोकेर विरोध गर्ने हाम्रा आवाजहरुलाई अब आफ्नै ठाउँको र आफ्नो लागि संयुक्तरुपमा आवाज उठाऔं ।”






नेकपा म्याग्दीका कार्यालय सदस्य बालकृष्ण सुवेदीले सदरमुकाम बेनीलाई नदी कटान र प्राकृतिक प्रकोपबाट जोगाउनु सबैको दायित्व रहेको बताउँदै अझैसम्म तटबन्धको काम शुरु हुन नसक्नु विडम्बनापूर्ण भएको विचार व्यक्त गरेका छन् ।




यसैबीच रुपाताल एकीकृत विकास आयोजनाका सबइन्जिनियर बद्री भट्टराईले केही दिनमै सदरमुकाम बेनी बजार संरक्षणको काम शुरु हुने जानकारी गराएका छन् । “बेनी बजार संरक्षणका लागि काम शुरु भैसकेको छ,” भट्टराईले भने, “अबको एक साताभित्र फिल्डमै पुगेर काम शुरु हुन्छ ।”


×
Berita Terbaru Update