पुस २५
रघुगङ्गा गाउँपालिका–४ दग्नामको मूल गाउँ र दर्मिजालाई जोड्ने अजिङ्गर भीरमा निर्माणाधीन सडकको ट्र्याक खुलेको छ । पछिल्लोपटक गतसाल चैत १३ गतेबाट शुरु भएको ट्र्याक खोल्ने प्रयास शनिबार पूरा भएको सडक निर्माणमा संलग्न स्थानीय यूवा सुविन शेरपुञ्जा मगरले जानकारी दिए । अजिङ्गर भीरमा जारी ट्र्याक खोल्ने काम पूरा भएको सङ्केत जनाउने गरी दग्नाम र दर्मिजा दुबैतिरबाट ट्र्याक खोल्दै अगाडि बढेका स्क्याभेटरका ‘ब्रेकर’हरुलाई एकआपसमा जोडिएको थियो ।
गाउँपालिकाको ७ र ८ नम्बर वडा रहेका चिमखोला र कुइनेमङ्गलेलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बहुप्रतीक्षित ‘गलेश्वर–मौवाफाँट–दग्नाम–दर्मिजा–चिमखोला–घ्याँसीखर्क’ सडकको ट्र्याक खोल्ने काम २२ वर्षमा पुरा भएको हो।
सडक निर्माणमा संलग्न सबैप्रति धन्यवाद व्यक्त गर्दै सिभिल इन्जिनियरसमेत रहेका शेरपुञ्जाले भने, “चर्को घाम, मुसलधारे पानी, मुटु कमाउने चिसो, बाढी पहिरो र ज्यानको समेत पर्वाह नगरी हामी जुन मिसनमा लागेका थियौं, त्यो आज पूरा भएको छ । निकै कडा चट्टान फोडेर सडकको ट्र्याक खोल्न सफल भएका छौं,” उनले अगाडि भने, “यस अवसरमा मिसन सफल पार्न खटिने सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु ।”
अभियान पूरा गर्न खटिने सबैप्रति आभार प्रकट गर्दै उनले भने, “तपाईंहरुको योगदानलाई पुस्तौं पुस्ताले सम्झिरहने छ ।” ट्र्याकमात्रै खुलेको यस सडकलाई हरित सडकका रुपमा विकास गर्न धेरै काम बाँकी रहेको जनाउँदै शेरपुञ्जाले चिमखोला र कुइनेमङ्गले क्षेत्रको विकासका लागि अब नयाँ सम्भावनाको ढोका खुलेको प्रतिक्रिया दिएका छन् ।
रघुगङ्गा गाउँपालिकाले गौरवको योजनाको रुपमा समावेश गरेको यो सडक निर्माणका लागि संघ, प्रदेश र गाउँपालिकाले समेत बजेट विनियोजन गरेका थिए ।
दग्नाम र चिमखोलाको भूगोललाई छुट्ट्याएको अजिङ्गर भीरको कडा चट्टानका कारण पूरा हुन नसकेको रघुगङ्गाबासीको सडक सपना संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानी, निर्माणाधीन जलविद्युत् आयोजनाको थप सहयोग र स्थानीय यूवाहरुको निरन्तरको मेहनतका कारण २२ वर्षपछि सम्भव भएको हो ।
राष्ट्रिय सभाका तत्कालीन सदस्य थममायाँ थापाको पहलमा आर्थिक वर्ष २०५६/५७ मा निर्माण शुरु भएको यो सडक रातो किताबमा समेत परेको थियो । त्यसयता माओवादी युद्ध, अपुग बजेटलगायतका कारण यो बाटो निर्माण गर्ने काम ओझेलमा परेको थियो।
रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले गाउँपालिकाको गौरवको योजनामा संघ र प्रदेश सरकारले हातेमालो गर्दा सडकको ट्र्याक खोल्न सहज भएको भन्दै खुशी व्यक्त गरेका छन् ।