बेनी
फागुन ५
बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिकाकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई प्रहरीले पक्राउपछि सार्वजनिक गरेको छ । घटना भएको १४औं दिन बुधबार प्रहरीले शङ्कास्पद आरोपीलाई सार्वजनिक गरेको हो ।
हत्या आरोपी मृतक भागरथीका भाइ पर्ने १७ वर्षका दिनेश भट्ट रहेका छन् । हत्या आरोपमा समातिएका दिनेश भट्टले भागरथीको घाँटी थिचेर हत्या गरेको तर बलात्कार नगरेको बयान दिएका छन् ।
आरोपी दिनेशले भागरथीलाई शुरुमा धकेलेर लडाएको अनि दुबै हातले घाँटी थिचेर हत्या गरेको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा डिआइजी उत्तमराज सुवेदीले बताए ।
हत्यापछि पाइन्ट घुँडासम्म तानेर बलात्कार गरेको अनुसन्धानबाट देखिए पनि निष्कर्षमा पुग्न बाँकी रहेको उनको भनाइ छ । “अनुसन्धानबाट उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याबलगायत अन्य रिपोर्ट आएपछि हामी थप तथ्य बाहिर ल्याउन सक्छौं,” डिआइजी सुवेदीले भने ।
यसैबीच भट्टलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले दिनेशविरुद्ध जबर्जस्ती करणी र ज्यान मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले पाँच दिनको म्याद दिएको जानकारी दिए ।
स्थानीय सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्दै आएकी भट्टको शव गत माघ २२ गते स्थानीय लवलेक सामुदायिक वनमा फेला परेको थियो।