बेनी
फागुन ५
सरकारले फागुन २३ गतेदेखि ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी गराएका हुन् ।
फागुन ४ गतेसम्म २ लाख ८३ हजार जनालाई खोप लगाइएको र त्यसबाट कुनै ‘साइड इफेक्ट’ नदेखिएको प्रवक्ता गौतमको भनाइ थियो ।
कोरोना भाइरसविरुद्ध सरकारले गत माघ १४ गतेदेखि खोप अभियान शुरु गरेको छ । प्राथमिकताक्रम अनुसार स्वास्थ्यकर्मी, सफाईकर्मी, कर्मचारी, जनप्रतिनिधि र पत्रकारले खोप लगाइरहेका छन् ।
यसैबीच कोभिड विरुद्धको खोप अभियानमा शिक्षा क्षेत्रलाई भेदभाव गरिएको गुनासो आएको छ । दैनिक हजारौं विद्यार्थीको नजिकमा रहेर पठनपाठन गराउनु पर्ने शिक्षकहरुलाई विभेद गरिएको भन्दै सरोकारवालाहरुले शिक्षकहरुलाई यथाशिघ्र कोभिड खोपको व्यवस्था गर्न माग गरेका छन् ।