बेनी
फागुन ६
कोरोना भाइरसको महामारी (कोभड–१९) सँग जुध्न सरकारले २० लाख भ्याक्सिन खरीद गर्ने भएको छ । यसका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने निर्णयसमेत सरकारले गरेको छ । भारतको सेरम इन्स्टिच्यूटबाट २० लाख कोभिसिल्ड भ्याक्सिन खरीदका लागि बाधा अड्काउ फुकाउ आदेश जारी गरिएको हो।
सार्वजनिक खरीद ऐनको दफा ४१ मा खरीदका लागि कार्य सम्पादन र पेस्की जमानत राख्नुपर्ने व्यवस्था अनुसार सरकारले पछिल्लो निर्णय आएको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री पार्वत गुरुङले उत्पादक कम्पनीको प्रस्ताव अनुसार एक पटकलाई बाधा अड्काउ फुकाउ आदेश जारी गर्दै राष्ट्र बैंकबाट सोझै भुक्तानी दिने गरी आदेश जारी गर्ने निर्णय भएको जानकारी दिए । “जतिसक्दो छिटो जनतालाई खोप उपलब्ध गराउने उद्देश्यले एकपटकलाई बाधा अड्काउ फुकाएर उत्पादक कम्पनीलाई पेश्की रकम दिने निर्णय गरिएको हो,” मन्त्री गुरुङले भने ।
हाल नेपालमा सेरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति प्रदान गरिएको छ । यसअघि भारत सरकारको सहयोगमा १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको छ ।