बेनी
फागुन ६
म्याग्दीको मङ्गला गाउँपालिका सडक कालोपत्रे शुरु गर्ने जिल्लाको पहिलो गाउँ सरकार बनेको छ । गण्डकी प्रदेश र गाउँपालिकाको साझेदारी कार्यक्रमअन्तर्गत गाउँपलिकाको केन्द्र रहेको बाबियाचौर बजारमा कालोपत्रे शुरु गरिएसँगै मङ्गलाले यस्तो रेकर्ड राखेको हो ।
प्रदेश र स्थानीय सरकारको साझेदारीमा गत वर्ष नै काम सम्पन्न गर्नेगरी तयारी भए पनि कोरोना भाइरसको महामारीका कारण यो योजना स्थगित भएको थियो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले गण्डकी प्रदेश सरकारको सशर्त अनुदानबाट प्राप्त १ करोड तथा गाउँपालिकाको १३ लाख रुपैयाँको बजेटबाट सडक कालोपत्र गर्न शुरु गरिएको जानकारी दिएका छन् । “अघिल्लो आर्थिक वर्षमै सम्पन्न गर्नेगरी योजना बनेको थियो,” अधिकृत ढुङ्गानाले भने,“तर, कोरोना महामारीको कारण पूर्वनिर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि प्रदेश सरकारसँगको सहमतिमा म्याद थपेर काम शुरु गरेका हौं ।”
ढुङ्गानाका अनुसार, बजार क्षेत्रको करिब ६ सय मिटर सडकलाई ३.७५ मिटर चौडाइमा कालोपत्रे गरिनेछ भने निर्माण कार्यको जिम्मेवारी सोमरस निर्माण सेवा कम्पनीले पाएको छ ।
गाउँपालिकका इन्जिनियर सुजन पाध्याले कालोपत्रे योजनालाई गुणस्तरीय र दीगो बनाउन निर्माण सामाग्रीको प्रयोग र निर्माण कार्यबारे निरन्तर अनुगमन गरिएको बताए । कालोपत्रे योजनालाई गुणस्तरीय बनाउन गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक र स्थानीय सरोकारवालाहरुले नियमितरुपमा निगरानी गरिरहेको पाध्याको भनाइ छ ।
छिमेकी देशहरु चीन र भारतलाई जोड्ने कालीगण्डकी करिडोर, बेनी–दरबाङ–ताकम–जलजला जोड्ने राष्ट्रिय महत्वका सडक बेनी हुँदै अगाडि बढ्छन् । सडकको रेखाङ्कन हेर्दा तिनले म्याग्दी जिल्ला छिचोल्ने देखिन्छ । तीमध्ये धेरैको ट्र्याकसमेत खुलेको छ । तर, सडकको स्तरीकरण र कालोपत्रे योजना भने कागज र भाषणमै सीमित छ ।
म्याग्दीमा सदरमुकामसमेत रहेको बेनी नगरपालिकाको वडा नं. १, ७, ८, र ९ को सीमित ठाउँमा मात्र कालोपत्रे गरिएको छ । त्यसैले बेनी नगरपालिकापछि सडक कालोपत्रे गर्ने पहिलो स्थानीय सरकारको अभिलेख मङ्गलाले कायम गरेको हो ।