बेनी
फागुन ३
कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन विज्ञहरुले सुझाव दिएका छन् । कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिको दोस्रो बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यस्तो सुझाव दिएको हो ।
स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक गौतमले पहिलो खोप लिएको ८ देखि १२ हप्ताभित्र दोस्रो खोप लिने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएको जानकारी दिए । “हामीले आफ्नो सुझाव दिएका छौं, उचित लागेमा मन्त्रालयले आवश्यक निर्णयसहित कार्यान्वयनमा लैजानेछ,” डा. गौतमले भने ।
यसअघि मन्त्रालयले खोपको पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा दिइने बताएको थियो । डा. गौतमका अनुसार विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा उक्त प्रस्ताव गरिएको हो । सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधिमा दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको थियो ।
खोपको दोस्रो मात्रा जति ढिला लगायो उति नै शरीरमा एन्टिबडी प्रभावकारी हुने कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए । “हामीले २८ दिनपछि दोस्रो मात्रा लगाउनुपर्छ भन्दा सेजले यस्तो निर्णय गरेको थिएन, पछिल्लो परिमार्जित निर्णय अनुसार हामीले मन्त्रालयलाई यस्तो सिफारिस गरेका हौं,” उप्रेतीले भने ।
खोप विज्ञसमेत रहेका डा. उप्रेतीका अनुसार खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिने प्रतिअसरहरु दोस्रो मात्रा लगाउँदा कम देखिन्छ । त्यसैगरी कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलतालाई घटाउने समेत उनले बताए । उनले भने, “खोप लिइसकेका व्यक्तिलाई सङ्क्रमण भएर गम्भीर असर नगरे तापनि सार्ने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ ।”
खोप समितिको प्रस्तावलाई स्वास्थ्य मन्त्रालयले स्वीकृति दिएपछि लागू हुनेछ ।
यसैबीच हिमाली जिल्ला म्याग्दीमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान जारी रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका प्रमुख एकनारायण लम्सालले सरकारले तोकेको मापदण्डमा आधारित भएर स्वास्थ्यकर्मी, सफाईकर्मी, पत्रकार र कर्मचारीकर्मचारीलाई खोप लगाउने काम भैरहेको जानकारी दिएका छन् ।