Notification

×

Iklan

Iklan

आज श्रीपञ्चमीः सरस्वतीको पूजा आराधना गरी मनाइँदै

Monday, February 15, 2021 | February 15, 2021 WIB Last Updated 2021-12-30T03:23:59Z

बेनी

फागुन ४



आज माघ शुक्ल पञ्चमी अर्थात् ‘श्रीपञ्चमी’ पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई विभिन्न नामले पुकार्दै पूजा गर्ने प्रचलन छ ।



विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।





सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।



आजको दिन बालबालिकालाई शिक्षारम्भ गराउन र नाक–कान छेड्नका लागि पनि शुभ मानिन्छ । विद्यालयमा स्थापित सरस्वतीको प्रतिमूर्ति वा सरस्वतीका मन्दिरमा आज बिहानैदेखि विशेषगरी विद्यार्थीहरुको घुइँचो लाग्ने गर्दछ ।



सरस्वतीलाई प्रार्थना गर्ने मन्त्र यस्तो छः


या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता

या वीणा वरदण्ड मण्डितकरा या श्वेतपद्मासना ।

या ब्रह्माच्युत शङ्कर प्रभृतिभिः देवैः सदा वन्दिता

सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ।।


शुक्लां ब्रह्मविचार सार परमाम् आद्यां जगदद्व्यापिनीम्

वीणा–पुस्तक–धारिणीम् अभयदां जाड्यान्धकारापहाम् ।

हस्ते स्फाटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्

वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम् ।।



×
Berita Terbaru Update