बेनी
फागुन ४
बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । विश्वको एक सय प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरलाई अभद्र व्यवहार गरेको आरोपमा बस्नेत पक्राउ परेका हुन् ।
सपना रोका मगरको उजुरीको आधारमा प्रहरीले विनयजङ्ग बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतलाई मङ्गलबार नयाँ बसपार्कबाट पक्राउ गरिएको काठमाडौं जिल्ला प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिएका छन् ।
मगरले आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा बस्नेतविरुद्ध उजुरी दर्ता गराएकी थिइन् । बस्नेतले आफूसँग सपनाको अश्लील फोटोहरू भएको र सार्वजनिक गर्ने धम्की दिँदै आएका थिए ।
म्याग्दीको बराङ्जा स्थायी घर भएकी १८ वर्षीय सपनाले पनि बेवारिसे शव व्यवस्थापन गर्दै आएकी छिन् । बस्नेतले सपनालाई आफ्नो ‘छोरी’ बताउने गरेका थिए । तर, पछिल्लोपटक बेलायती सञ्चार संस्था बिबिसीको ‘१०० प्रभावशाली महिला’ को सूचीमा सपना रोका पनि समेटिएपछि बस्नेत र सपनाबीच सम्बन्ध बिग्रिएको बताइएको छ।
यसक्रममा बस्नेतले अनेक लाञ्छना लगाउँदै अभद्र व्यवहार गरेको भन्दै सपनाले आफन्तको सहयोगमा गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर शान्ति सुरक्षाको प्रत्याभूति र दोषीलाई कारवाहीको माग गरेकी थिइन् ।