Notification

×

Iklan

Iklan

नेकपा नफुटेसम्म कांग्रेस नबोल्ने

Thursday, February 25, 2021 | February 25, 2021 WIB Last Updated 2021-12-30T03:23:48Z

 बेनी

फागुन १३




प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको मङ्गलबारको फैसलासँगै देशको राजनीति सडकबाट सदनतिर सोझिएको छ । विभाजित नेकपाको प्रचण्ड–नेपाल पक्षधरले बुधबार ‘विजय उत्सव’ मनाएबाहेक दलहरुको गतिविधि सडकबाट सदनतिर सोझिएका छन् ।


सर्वोच्चको फैसलासँगै एकातिर नेकपालाई ‘एकढिक्का बनाइराख्ने’ विचार आउन थालेको छ भने अर्कातिर नेपाली कांग्रेसले सत्तारुढ दल आधिकारिक रुपमा दुई टुक्रा नभएसम्म आगामी सत्ता राजनीतिबारे आफ्नो ‘पोजिसन क्लियर नगर्ने’ बताएको छ । 


नेकपाका उपाध्यक्ष वामदेव गौतमले बिहीबार अध्यक्ष प्रचण्डलाई भेटेर एकता अभियानको पहलकदमी लिन प्रचण्डलाई अनुरोध गरे । त्यस्तै अहिलेसम्म कुनै पक्षमा नखुलेका पूर्वमन्त्री लालबाबु पण्डितले पनि कम्युनिष्ट पार्टीका नेताले सरकार बनाउन कांग्रेसलाई गुहार्नु अशोभनीय भएको भन्दै एकताको पहल गर्ने बताएका छन् । गौतम र पण्डितजस्तै कतिपय अगुवा कार्यकर्ताहरुले पनि शीर्ष नेतालाई सल्लाहकारको भूमिका स्थापित गरेर एकता अभियानलाई अघि बढाउनुपर्ने विचार व्यक्त गरिरहेका छन् ।


नेकपाको एकता जोगाउन कोशिस भैरहेका बेला विपक्षी नेपाली कांग्रेसले नेकपाको विभाजन कुरेर बसेको छ ।सभापति शेरबहादुर देउवाको निवासमा बिहीबार बसेको पदाधिकारी बैठकले राजनीतिक रुपमा विभाजित भएको नेकपा कानुनीरुपमा समेत नफुटेसम्म नेपाली कांग्रेसले भावी सरकारबारे कुनै निर्णय नगर्ने निर्णय गरेको छ । उक्त बैठकले नेकपा औपचारिक रुपमा विभाजित नभएसम्म निर्णय गर्नु हतारो हुने निष्कर्ष निकाल्दै ‘पर्ख र हेर’को रणनीति अख्तियार गरेको हो ।


संसद पुनःस्थापनाको फैसलापछि नेकपाको प्रचण्ड–नेपाल पक्षले देउवालाई सत्ता सहकार्यको प्रस्ताव गरेको सन्दर्भमा कांग्रेसको उक्त धारणा सार्वजनिक भएको हो ।



नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेकपा नफुटेको अवस्थामा कांग्रेसले हतारिएर निर्णय नगर्ने बताएका छन् । उनले भने, “अहिले नै भावी सरकारबारे निर्णय गर्नु अर्थहीन कुरा हो । अपरिपक्व अवस्थामा कांग्रेसले कुनै निर्णय गर्दैन ।”  अहिलेसम्म परिस्थिति नेकपाकै हातमा रहेकाले उसले गर्ने निर्णयपछि मात्रै कांग्रेसले पोजिसन क्लियर गर्ने महतको भनाइ थियो ।



×
Berita Terbaru Update