बेनी
फागुन १३
म्याग्दीकी सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजङ्ग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारवाही अगाडि बढेको छ । विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।
प्रहरी स्रोतका अनुसार विनयजङ्गको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको स्रोतको भनाइ छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ ।
काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गरे पनि तस्वीरबारे थप जानकारी दिएका छैनन् । यद्यपि, साइबर अपराधमा मुद्दा अघि बढाइएको उनको भनाइ छ ।
यसैबीच जिल्ला अदालत, काठमाडौंले बस्नेतविरुद्ध अनुसन्धानका लागि थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बेलायती सञ्चार संस्था बिबिसीले सार्वजनिक गरेको सन् २०२० को ‘१०० प्रभावशाली महिला’को सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।
‘बाबु–छोरी’को सम्बन्ध रहेका बस्नेत र सपनाले काठमाडौंमा रहेका बेवारिस शव जलाउँदै आएका थिए । तर, बिबिसीको ‘विश्वकै १०० प्रभावशाली महिला’को सूचीमा सपनाको नाम आएपछि भने उनीहरुको सम्बन्धमा फाटो आएको बताइन्छ ।
