बेनी
फागुन ७
अमेरिकी अन्तरीक्ष एजेन्सी (नासा)को अन्तरीक्ष यान मङ्गल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरीक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै शुक्रबार बिहान मङ्गल ग्रहको सतहमा सफल अवतरण गरेको हो ।
तस्वीरः नासा |
मङ्गल ग्रहमा अवतरण गर्नासाथ सो यानले एउटा तस्वीर ट्वीट गरेको थियो । ‘पिर्जाभियरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरीक्ष यान मङ्गल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरु खुसीले उफ्रिएका थिए । यो यानलाई मङ्गल ग्रहमा सफल अवतरण गराउनु नै सबैभन्दा ठूलो चुनौती ठानिएको थियो ।
सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मङ्गल ग्रहमा जीवनको सङ्केत खोजी गर्ने छ । यो मिसनलाई नासाको सबैभन्दा महात्वाकांक्षी योजनाको रुपमा लिइएको छ ।
यसले मङ्गल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौं वर्ष पहिले माइक्रो–अर्गानिज्मको कुनै पनि चिह्न वा गतिविधिको पनि अनुसन्धान गर्ने बेलायती सञ्चार संस्था बिबिसीले जनाएको छ ।