बेनी
फागुन ८
कास्कीको पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ । शनिबार पोखरा रङ्गशालामा सम्पन्न प्रतियोगितामा प्रतिस्पर्धी पर्वतलाई ३–० को सोझो सेटमा पराजित गर्दै म्याग्दी विजेता बनेको हो ।
फाइनल खेलमा म्याग्दीले २५–१४, २५–१५ र २५–१७ को अन्तरमा पर्वतलाई उपविजेतामा सीमित गर्दै उपाधि हात पारेको हो । उपाधिसँगै म्याग्दीले नगद २ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको पर्वतले १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
पुरुषतर्फ तनहुँ च्याम्पियन
शनिबारै सम्पन्न प्रतियोगिताको पुरुष भलिबलतर्फको उपाधि तनहुँले हात पारेको छ । प्रतिस्पर्धी स्याङ्जालाई ३–२ को सेटमा हराउँदै तनहुँ च्याम्पियन बनेको हो । उपाधिसँगै तनहुँले २ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको स्याङ्जाले १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
अरुणा शाही उत्कृष्ट खेलाडी
यसैबीच पोखरामा सम्पन्न प्रतियोगिताको महिला भलिबलतर्फ म्याग्दीकी अरुणा शाही उत्कृष्ट खेलाडी घोषित भएकी छिन् । राष्ट्रिय महिला भलिबलका क्याप्टेन रहेकी अरुणाले उत्कृष्ट खेलाडीबापत ५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरेकी हुन् ।