बेनी
फागुन ९
कोरोना महामारी विरुद्ध लगाउन नेपाल सरकारले भारतबाट खरिद गरेको दश लाख डोज खोप काठमाडौं आइपुगेको छ । नेपाल आइपुगेको ‘कोभिशिल्ड’ खोप बेलायतको अक्सफोर्ड विश्वविद्यालय र आष्ट्रा जेनेकाले संयुक्तरुपमा विकास गरेका हुन् । उक्त खोपलाई भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ ।
एयर इन्डियाको उडानमार्फत् खोप आज मध्याह्न काठमाडौं आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
सरकारले २३ फागुनदेखि सञ्चालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो । देशभरका खोप केन्द्रमा वितरण गरेपछि शिक्षक र कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिने सरकारको तयारी छ ।
कोरोना भाइरसविरुद्ध नेपालमा माघ १४ गतेदेखि खोप अभियान शुरु भएको थियो । अभियानको पहिलो चरणमा क्रमशः स्वास्थ्यकर्मी, सफाईकर्मी, नेपालमा कार्यरत विदेशी दूतावास र नियोगका कर्मचारी, पत्रकार, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो ।