बेनी
माघ २९
बैतडी जिल्लाकी विद्यालय तहकी छात्रा भागिरथी भट्टको बलात्कारपछि हत्या गरिएको विरोधमा म्याग्दी सदरमुकाम बेनीमा प्रदर्शन गरिएको छ । सदरमुकाम बेनी र आसपासका गाउँबाट बजार झरेका महिलाहरुले बिहीबार विरोध गरेका हुन् ।
बैतडीको दोगडा केदार गाउँपालिका–७ की १७ वर्षीया भट्टको माघ २१ गते स्थानीय सामुदायिक वनमा बलात्कारपछि हत्या भएको थियो ।
बैतडी जिल्ला अस्पतालको पोष्टमार्टम रिपोर्टबाट भट्टको बलात्कारपछि घाँटी थिचेर हत्या भएको खुलेपछि त्यसको चौतर्फी विरोध भैरहेको छ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता नलागिरहेको अवस्थामा बैतडीकी भागिरथीको समेत बलात्कारपछि हत्या भएको भन्दै सोको विरोधमा म्याग्दीमा प्रदर्शन गरिएको आयोजकले बताएको छ ।
महिला अधिकारकर्मी ज्योति लामिछानेले नेपाली नारीहरुले आफ्नै टोल, छिमेक र देशभित्रै असुरक्षित भएर हिँड्पर्ने अवस्थाको अन्त्य होस् भनेर खबरदारी गर्न विरोध प्रदर्शन गर्नुपरेको प्रतिक्रिया दिएकी छिन् ।
बेनीको विरेन्द्रचोकमा कोण सभा शुरु हुनुअघि जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलहरुमा आबद्ध महिलाहरुको समूहले नारा लगाउँदै बेनीबजारको परिक्रमा गरेको थियो ।