बेनी
माघ २६
सरकारले कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप अभियान आजदेखि शुरु गर्न लागेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोपको व्यवस्था गरेको सरकारले दोस्रो चरणमा भने पत्रकार, नेपालस्थित विभिन्न दूतावासमा कार्यरत कर्मचारी र संयुक्त राष्ट्र संघलगायतका विदेशी एजेन्सीका कर्मचारीलाई प्राथमिकतामा राखेको हो ।
आइतबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले पत्रकारलाई लगाउने खोपको व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरिने बताएका थिए । राजधानी काठमाडौंको बानेस्वरमा रहेको निजामति कर्मचारी अस्पतालमा पत्रकारलाई खोप लगाउने व्यवस्था गरिएको र यसक्रममा १३ हजारभन्दा बढी पत्रकारले खोप सुविधा लिने मन्त्रीले जानकारी दिए ।
त्यस्तै पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई खोप लगाइने भएको छ । शिक्षण अस्पताल र शहीद गङ्गालाल अस्पतालमा कुटनीतिक नियोगका कर्मचारीलाई खोप दिइने भएको छ ।
आजबाट शुरु भएको दोस्रो चरणको खोप कार्यक्रम शुक्रबार सम्पन्न हुने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
शनिबार सकिएको खोप अभियानको पहिलो चरणमा १ लाख ८१ हजार ८५७ जना स्वास्थ्यकर्मीले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।