बेनी
फागुन ७
निर्वाचन आयोगले यही फागुन २१ गते मतदाता नामावाली प्रकाशन गर्ने भएको छ । प्रतिनिधि सभा विघटन ठीक कि बेठीक भन्ने बहस सर्वोच्च अदालतमा जारी रहँदा निर्वाचन आयोग भने आन्तरिक तयारीमा जुटेको हो ।
पाँचौ निर्वाचन दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदो वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पूरा भएको जानकारी गराएका छन् । यसका लागि फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने र देशभरि मतदान स्थल र मतदान केन्द्रहरुको निधो गरिने थपलियाको भनाइ छ ।
निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको बताउँदै थपलियाले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरुको खरिद योजना तयार गरिएको बताए । आउँदो निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको थपलियाले बताए ।
शुभकामना सन्देशमा उनले भनेका छन्, “आउँदो निर्वाचनको सिलसिलामा पनि हामीले निर्वाचनको आन्तरिक तयारी लगभग पूरा गरेका छौँ । यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ । देशभरि मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिनेछ । त्यसलगत्तै हाम्रा निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्नेछन् । हामीले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र विशेषतः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढङ्गले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति नै तर्जुमा गरेका छौँ । रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ । निर्वाचनका सामग्रीको आन्तरिक बन्दोबस्त भइसकेको छ । बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामग्रीहरुको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरु तयार गरी अगाडि बढिराखेका छौँ ।’
निर्वाचन कुनै पनि किसिमको स्रोत, साधन, पहुँच र शक्तिबाट प्रभावित हुन नहुने बताउँदै प्रमुख आयुक्त थपलियाले खर्चिलो र भड्किलो बन्दै गएको निर्वाचनप्रति पनि आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
निर्वाचन आयोगले फागुन ७ गते निर्वाचन दिवस मनाउँदै आएको छ । नेपालमा सर्वप्रथम वि.सं. २०१५ साल फागुन ७ गते मतदाताहरुले आम निर्वाचनमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गरेका थिए । सोही दिनको सम्झना गर्दै वि.सं. २०७३ सालदेखि फागुन ७ गतेलाई निर्वाचन दिवसको रुपमा समेत मनाउन थालिएको छ ।