Notification

×

Iklan

Iklan

धर्म निरपेक्षताः एक चर्चा

Friday, February 26, 2021 | February 26, 2021 WIB Last Updated 2021-12-30T03:23:46Z

बेनी

फागुन १५


भोलानाथ घिमिरे



पछिल्लो केही वर्षयता नेपालमा हुने राजनीतिक छलफलको विषयवस्तुमा धार्मिक विषय पनि समेटिन थालेको छ । खासगरी वि.सं. २०६२/६३ को जनआन्दोलनको सफलतापछि पुनर्स्थापित प्रतिनिधि सभाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको तथा २०७२ मा जारी भएको नयाँ संविधानले त्यसलाई अनुमोदन गरेको पृष्ठभूमिमा नेपालको राजनीतिक रङ्गमञ्चमा धर्मनिरपेक्षताको सवाल पनि जोडिन पुगेको हो ।


सगरमाथाको शिर, पशुपतिको आस्थाले सिञ्चित एवं बौद्घ दर्शनको आधारभूमि नेपाल । विश्वको एकमात्र हिन्दू राष्ट्रको रुपमा चिनिएको नेपाललाई किन धर्मनिरपेक्ष राष्ट्र बनाउनु परेको हो ? नेपालको सनातनी समाज यही विषयमा स्पष्ट हुन चाहेको छ । ८० प्रतिशतभन्दा बढी हिन्दू वा सनातनीहरु रहेको देशलाई धार्मिक एजेन्डा बिनाको २०६२/०६३ को आन्दोलनपछि किन धर्मरिपेक्ष घोषणा गर्नुपरेको हो ? नेपालको संबिधान २०७२ को भाग–१ धारा ४ को उपधारा १ मा लेखिएको छः ‘नेपाल राज्य ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्दछ ।’ हाम्रो देश धर्मनिरपेक्ष हुँदा र धर्मसापेक्ष वा खास धर्मको पक्षपाती हुँदैमा समाज, राष्ट्रको समुचित श्रीवृद्घिमा अन्तर पर्छ ? आन्दोलनको एजेन्डा नरहेको, ‘धर्म’जस्तो संवेदनशील विषयमा जनमतको परीक्षण नगरीकन गरिएको निर्णय नै विवादको जडकारण देखिन्छ ।


धर्म निरपेक्षताको चर्चा गर्नुपूर्व धर्मको बारेमा बुझ्न आवश्यक छ । बुज्रुकहरु भन्छन्ः धर्मका दश हजार परिभाषा छन् । त्यसैले धर्मको बारेमा गरिने छलफल नटुङ्गिने खालका हुन्छन् । धर्म भनेको यही हो भनेर कुनै एउटा अर्थबाट परिभाषित गर्न कठिन छ । धर्मनिरपेक्ष देश पनि एउटै खालका हुँदैनन् । यसलाई स्वभाव, कर्तव्य, सम्प्रदाय र साधना पद्घतिका आयाम गरी ४ वटा सन्दर्भबाट चर्चा गर्दा सजिलो हुनेछ । 


स्वभाव भनेको अग्निको स्वभाव वा धर्म  जलाउनु हो त्यस्तै पानीको स्वभाव प्यास मेटाउनु वा भिजाउनु हो अर्थात् चेतनारहित जड भौतिक वस्तुले ल्याउने परिवर्तन नै धर्मको स्वभाव हो । कर्तव्यको अर्थ जे गर्न योग्य छ वा जुन कार्य गर्नैपर्छ त्यो धर्म अन्तर्गत पर्दछ । राजधर्म भनेको राजा हुने धर्म अर्थात् नैतिक विचलन नआउने । राजधर्मको अनुसरण गर्नेमा धर्मराज युधिष्ठिरलाई लिन सकिन्छ । त्यस्तै मित्रता कायम राखिरहनु मित्रधर्म हो । विषम परिस्थितिमा पनि दूर्योधनको साथ नछोड्ने कर्णले मित्रधर्मको पालना गरेका छन् । त्यस्तै कागजस्तो चलाख बन्नु, बकुल्लोजस्तो एकाग्र हुनु, कुकुरको जस्तो पातलो निद्रा हुनु, थोरै खानु र सिक्नका लागि घर छाड्नुः विद्यार्थीमा हुनुपर्ने पाँच धर्म वा कर्तव्य हुन् ।


कवि तुलसीदासका अनुसार ‘धरम न दूसर सत्य समाना’ । अर्थात् सत्य समान अर्को कुनै धर्म छैन । त्यस्तै महात्मा गान्ंधीका अनुसार धर्मविहीन राजनीति मृतदेह जस्तै हुन्छ । जहाँसम्म धर्मनिरपेक्षताको सवाल छ, यो स्वभाव र कर्तव्यको आधारबाट भन्दा पन्थ वा सम्प्रदाय र साधना पद्घतिमा आधारित छ । स्वभाव र कर्तव्य नहँुदैमा मानिस अधार्मिक हुदैन । सम्प्रदाय भन्नाले हिन्दू, क्रिश्चियन, ईश्लाम, बौद्घ, जैन, यहूदी आदि पर्दछन् । हिन्दू, मुश्लिम, शिख, यहूदी आदिले ईश्वर मान्दछन् । तर बौद्घ, जैनले ईश्वर नमानेर मोक्ष र आत्म, नित्य मान्छन् । जे भए पनि यिनीहरुको ईश्वर, मुक्ति, मोक्ष, आत्मप्राप्ति साधनाको मार्ग भने फरक हुन्छ । हिन्दूले भक्ति वा साधनको बाटोबाट ईश्वर वा मोक्ष प्राप्त गर्दछन भने ईशाइले प्रार्थनाबाट स्वर्ग प्राप्तिको कामना गर्छन् आदि । 


धर्म हुनुको अर्थ त्यसमा केही न केही अलौकिक शक्ति हुन्छ भन्ने विश्वास हुनुपर्दछ । त्यसलाई प्राप्त गर्न साधना पद्घति आवश्यक छ । यो पद्घतिमा चल्नेलाई धार्मिक र नचल्नेलाई अधार्मिक वा तटस्थ भनिन्छ । कुनै धर्मसँग खास सम्बन्ध नभएको व्यक्तिले कुनै सम्प्रदायलाई मान्छ तर, अरु धर्मलाई नकारात्मक दृष्टिले हेर्दैन भने त्यो तटस्थ हो । धर्मनिरपेक्षतामा व्यक्ति वा समाजले धर्ममा खासै रुचि नहुने तथा आफ्नो जगत्को बारेमा चिन्ता गर्दै विज्ञानको प्रयोगलाई मोक्ष प्राप्तिको मार्ग ठान्दछन् । 


धर्म निरपेक्षताको इतिहासको चर्चा १९औं शताब्दीमा (सन्१८५१) होलीयोगको कालमा विकसित भएको पाइन्छ । पश्चिमाको इतिहासमा ५औं–१४औं शताब्दी सम्म अन्धकार युग रहनुमा धर्मिक अतिवादले काम गरेको मानिन्छ । राज्यको विधिपद्धति, संस्कार र चिन्तनमा इशाई धर्म वा चर्चको दबदबा रहेको त्यो समयमा यूरोपका देशहरुमा ज्ञान, विज्ञान, दर्शनजस्ता क्षेत्रको विकास हुन सकेन । छोटोमा भन्दा मध्यकालीन यूरोपमा पोप र पादरीको शासन चल्यो । त्यसैले यस समयमा मानिसको सहज परिस्थितिको उपेक्षा गर्दै पुजा, प्रार्थना गर्नेमा नै इशाई समाज, धर्मको चक्रव्यूहमा फस्न पुग्यो । मानिसले आफ्नो प्रयास वा पुरै ध्यान ईश्वर प्राप्त गर्न पूजापाठमा लगाई परलोकको यात्रा तय गर्ने भन्ने थियो । उनीहरुले पुजा गर्ने दिनलाई पबित्र वा ‘होली डे’ अर्थात् भगवान् प्राप्तिको दिनको रुपमा लिन्थे । पछि नव जागरण (रेनेसाँ)को लहर शुरु भएपछि मात्रै धार्मिक अन्धविश्वास कम हुँदै गयो । 


पुनर्जागरणकालमा अरस्तुको विचार प्रबोधन (तर्क र अनुभवपूर्ण युग) ले पुनः ठाउँ पाउन थाल्यो भने कोपर्निकस, सर आइज्याक न्युटन, ग्यालिलियो, चाल्र्स डार्बिनको ऐतिहासिक जीव वैज्ञानिक अनुसन्धानले रहस्यमयी कल्पनको ठाउँमा विज्ञानको वास्तविक उपलब्धिलाई देखाउने काम गरे । त्यसपछिको यूरोपले मात्रै सङ्कट हटाउने उपाय विज्ञान नै हो भन्न सकेको थियो । अन्धकार युगबाट पुनर्जागरणको अवस्था पार गरेपछि मात्रै यूरोपले औद्योगिक क्रान्ति, पूँजीवाद, समाजवादी अवधारणासहित विश्वकै कायाकल्प गर्न नेतृत्व गर्न शुरु गरेको हो ।


कुनै व्यक्ति धार्मिक हुन वा नहुन पनि सक्छ । तर, नैतिक हुनु आवशयक छ । हरेक मानिस नैतिक हुनुपर्दछ बरु धार्मिक नभए पनि हुन्छ । यो प्रकृतिमा भएका वनस्पतिको पूजा गर्दैमा सबै ठीक र सबैको ख्याल राख्न धर्म नै चाहिन्छ भन्ने हुदैन । जस्तै पिपललाई पानी दिनु धर्म होइन अक्सिजनका लागि दिए पनि हुन्छ । धर्मप्रति चाल्र्स बेडलफले विरोध गरे । धर्मप्रति विरोध नगर्ने तटस्थ बस्नु पर्दछ । समर्थन वा विरोध नगर्नु अथवा तटस्थ रहनुपर्छ भन्ने मत होलियोगको छ । 


धर्म निरपेक्षका  दर्शन र प्रयोगको दुई आधार हुन्छन । दर्शनमा व्यक्तिको प्रसङ्ग लिँदा जो धार्र्मिक, तटस्थ र नास्तिक पनि हुन सक्छ । जस्तै बाटोमा हिडेको मानिसले मन्दिर, मस्जिद, गिर्जाघर देख्दा वास्तै गर्दैन भने ऊ धर्मप्रति  तटस्थ छ भन्ने बुझिन्छ । यदि श्रद्घाले दर्शन गर्दछ भने ऊ आस्तिक हो र उसले घृणाको भावले व्यवहार गर्दछ भने ऊ नास्तिकमा गनिन्छ । अर्को कुरा, धर्म र समाजको बीचमा घनिष्ट सम्बन्ध छ भने त्यो धार्मिक समाज हो र समाजले कुनै धर्म विशेषलाई महत्व दिँदैन भने त्यो समाज तटस्थ समाज हो । 


राज्य र धर्मबीचको सम्बन्धलाई ४ वटा पक्षबाट विवेचना गर्न सकिन्छ । तिनलाई संक्षिप्तमा यसरी चर्चा गर्न सकिन्छः

१. पहिलो देश ‘धर्म तन्त्र’मा आधारित हुन्छ । राज्य पुरै धर्मको नियन्त्रणमा रहन्छ भने त्यसलाइ धर्मतन्त्र भनिन्छ । धर्मग्रन्थ नै संबिधान सरहको पुस्तक हुने यसमा धर्म मान्नेको विशेषाधिकार हुन्छ । धार्मिक विशेषाधिकार सहितको राष्ट्र प्रमुख हुन्छ । जस्तै इटालीको रोम क्षेत्रमा क्याथोलिक धर्मका क्रिश्चियन पोप प्रमुख भएको भ्याटिकन सिटी, बौद्घ धर्मको तिब्बत, युनान माउण्ट एथोस परम्परागत क्रिश्चियन, इरान जहाँ सन् १९७९मा इस्लामिक क्रान्ति भयो, कुरान नै मुख्य ग्रन्थ भयो जुन संबिधानमै उल्लेख छ । त्यहाँ धार्मिक नियुक्ति हुन्छ । संबिधान सरहको सरियात कानुन रहने त्यहाँ धार्मिक पद सर्वोच्च हुन्छ । 


२. ‘धर्म प्रभावित राज्य’मा कुनै धर्म विशेषको अधीन हँुदैन । विशेष धर्मलाई ग्राह्यता दिइन्छ र धर्मलाइ स्वीकार गरिन्छ । यस अन्तर्गत  यहूदी धर्म प्रभावित इजरायल पर्दछ । त्यस्तै विश्वमा चर्चा कमाएका क्रिश्चियन धर्म प्रभावित स्क्यानडेभियन वा नोर्डिक देशहरुमा डेनमार्क, स्विडेन, नर्वे, फिनल्याण्ड र इङल्याण्ड पनि  पर्दछ । इङल्याण्डलाई धर्म निरपेक्ष भनिए पनि राष्ट्रप्रमुख महारानी नै चर्चको प्रतिनिधि रहने चलन छ । इश्लाम धर्म प्रभावितमा पाकिस्तान, बंगलादेश, ब्रुनाइ, साउदी अरब छन् । बौद्घधर्म प्रभावितमा भुटान, श्रीलङ्का, कम्बोडिया, लाओस तथा केही मात्रामा जापान पनि पर्दछ । हिन्दू धर्म प्रभावित देशमध्ये ‘वसुधैव कुटुम्बकम्’को अनुसरण गर्ने नेपाल र भारत पर्दछन् । केही वर्ष अघिसम्म नेपाललाई विश्वको एकमात्र ‘हिन्दू राष्ट्र’ मानिन्थ्यो । अहिले धर्मनिरपेक्ष राष्ट्र भएको छ । यद्यपि सनातनदेखि चलिआएका धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता भएको मुलुकका रुपमा संविधानले नेपाललाई परिभाषित गरेको छ । यहाँ हिन्दू धर्मको प्रतीक गाई पालनलाई संरक्षण र धर्मान्तरणको अधिकार प्रतिकूल भएको देशको रुपमा लिइन्छ । 


३. ‘धर्म विरोधी राष्ट्र’का रुपमा धर्मको ‘सफाया’ गर्ने देश पर्दछन् । यी देशहरु आफुलाई कार्ल माक्र्सको विचारधाराबाट चलिरहेको बताउँछन् । सोभियत संघमा लेनिनले धर्मविरोधी अभियान चलाउँदै माक्र्सवाद लागू गरे । १९१७–१९२३ पछि स्टालिनले ४० लाख मानिस मार्नुका साथै क्रिश्चियन चर्च ध्वस्त पारे । कम्बोडियामा पोलपोटले २० लाख मान्छे मारेर बौद्घ धर्मको नाश गरेको व्यथा, त्यस्तै उत्तर कोरियामा अहिले पनि कुनै धर्म मान्नेलाई तोपमै बाँधेर उडाइन्छ र जुछे विचारधारा मान्ने व्यवस्था छ । चीनमा सन् १९६६–१९७६ को सांस्कृतिक क्रान्ति आदि पनि धर्मविरोधी अभियानका रुपमा चिनिन्छन् । सन् १९७८ पछि चीन उदार धर्म विरोधी हुँदै गएको छ । अहिले त्यहाँका सर्वसाधारणले धर्म मान्न पाउने तर राज्यका सेवामा सङ्गठित सदस्यले भने धर्मको सदस्यता त्याग्नु पर्ने व्यवस्था छ ।


४. ‘धर्मनिरपेक्ष राज्य’ भन्नाले त्यस्ता देशहरु पर्दछन् जसले धार्मिक आस्था भएकै आधारमा नागरिकलाई कुनै भेदभाव गर्दैनन् । त्यहाँ सबै नागरिकलाई समान व्यवहार गरिन्छ । कुनै धर्म राजकीय धर्म हँुदैन । धार्मिक ग्रन्थ वा पुस्तकलाई प्राथमिकता दिँइदैन । राज्य र धर्म क्षेत्र फरक हुन् भनेर बुझ्ने र बुझाउने काम हुन्छ । देशको संबिधान, कानुनमा जे नियम छ त्यही नै अन्तिम हुन्छ । 


‘धर्मनिरपेक्ष राज्य’ पनि दुई किसिमका छन् । धर्मबाट टाढा रहने वा कुनै मतलब नराख्ने, धार्मिक व्यक्ति, राज्य संरचनामा नरहने कठोर वा नकारात्मक सोचको धर्मनिरपेक्ष राष्ट्रमा फ्रान्सलाई लिन सकिन्छ । जहाँ मुश्लिम छात्रालाई स्कुलमा बुर्का लगाउन र क्रिश्चियनलाई क्रस चिह्नअङ्कित लकेट लगाउन प्रतिबन्ध लगाइन्छ । 


अर्कोमा उदार वा सकारात्मक धर्मनिरपेक्ष राज्यले धर्मलाई प्राथमिकता दिँदैन तर सबै धर्मसँग निकट संबन्ध राख्न चाहन्छ । यस्ता मुलुक धर्मसँग निरपेक्ष हँुदैन तर धर्मग्रन्थ वा पन्थसँग निरपेक्ष हुन्छ । अमेरिका धर्मनिरपेक्ष देश हो । तर, उसको राष्ट्रिय मुद्रा डलरमा (In God we believe ‘हामी इश्वरमा विश्वास गर्छौं’) लेखिएको छ । अमेरिकामा हालै निवर्तमान भएका राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चको अगाडि बाइबल हातमा राखेर ‘क्रिश्चियन धर्मको लागि जे पनि गर्न सक्छु’ भन्नु र बहालवाला राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पवित्र बाइबलमा हात राखेर शपथ खाएको कुरा यहाँनेर मननीय छ । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राम मन्दिर निर्माणका लागि खेलेको भूमिका, र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि पशुपतिनाथको शिवलिङ्गमा सुनको जलहरी राख्न, चितवनको माडीमा राम जन्मेको दावी गर्नुजस्ता घटनामा धर्मप्रतिको मोह झल्किएको मान्न सकिन्छ । 


घोषित रुपमा नेपाल ‘धर्मनिरपेक्ष राष्ट्र’ भए पनि विभिन्न दलका नेताका अभिव्यक्ति र प्रकट अप्रकट गतिविधिले कानुनमा ‘धर्मनिरपेक्ष’ र व्यवहारमा ‘धर्मसापेक्षता’को सङ्क्रमण शुरु भएको आभास दिएका छन् ।


पश्चिमा राष्ट्रमा धर्मको विषय समस्याको जड बनेको र छिमेकी भारतमा साम्प्रदायिक दङ्गाको जोखिम बनिरहेको अवस्थामा नेपालमा अहिलेसम्म धार्मिक सवालले कुनै त्यस्तो जोखिम निम्त्याएको अवस्था छैन । यहाँनेर प्रश्न उठ्न सक्छः के नेपाल उदार धर्मनिरपेक्ष देश हो त ? नयाँ संविधानले ‘धर्मनिरपेक्ष राष्ट्र’ घोषणा गरेको, राष्ट्रिय कानुन, नियम, झण्डा, मुद्रामा कतै पनि धर्म झल्किँदैन । अहिलेसम्म कुनै दलले धर्मकै आडमा राजनीति गरिरहेको छैन भने ठूला दलहरु र न्यायालयका निर्णयसमेत धर्मनिरपेक्ष देखिन्छन् । 


यति हुँदाहुँदै छिमेकी देशको प्रभाव र कमजोर वैचारिक धरातलमा उभिएका राजनीतिक दलहरुका कारण नेपालको राजनीतिमा धर्मको एजेन्डा जुनसुकै समय र परिस्थितिमा भित्रिन सक्ने देखिन्छ । यसप्रति सचेत हुँदै नेपाललाई धर्मतन्त्र वा धर्म प्रभावित नभई धर्मनिरपेक्षताको अवस्थामा लैजान र धर्मविरोधी राज्यबाट नरम धर्मपन्थीको स्वरुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता हो ।


(उपप्राध्यापक, म्याग्दी बहुमुखी क्याम्पस बेनी)


कोरा डट कमको सहयोगमा




×
Berita Terbaru Update