बेनी
माघ २७
दैनिक सयौं विद्यार्थीको सम्पर्कमा रहेर काम गर्ने शिक्षकहरुलाई कोरोना खोप लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले आज मङ्गलबार सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अनुरोधपत्र पठाएको हो ।
सरकारको नीतिअनुसार मन्त्रालयले प्राथमिकताको आधारमा खोप लगाउने व्यवस्थाका लागि विषयगत मन्त्रालयका रुपमा स्वास्थ्य मन्त्रालयलाई चिठी लेखेको हो । ‘प्राथमिकताको आधारमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षकलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गर्दछौं’, मन्त्रालयद्वारा लेखिएको पत्रमा उल्लेख छ ।
यसअघि शिक्षक महासंघ, नेपाल अभिभावक संघ, प्याब्सन, एन प्याब्सन लगायतका सरोकारवाला निकायले लाखौ विद्यार्थीसँग जोडिने र अगपंक्ति (फ्रन्टलाइन) मा खटिने शिक्षकलाई ‘कोभिड–१९’ खोप लगाउनुपर्ने बताउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराएका थिए ।
शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा, प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सबै किसिमका शिक्षकलाई तत्काल कोभिड–१९ खोप लगाउने व्यवस्था गर्न मन्त्रालयलाई आग्रह गरेका थिए ।
पहिलो चरणमा स्वास्थ्यकर्मीलाई कोरोना विरुद्धको खोप लगाएको सरकारले दोस्रो चरणमा पत्रकार, विदेशी दूतावासमा कार्यरत कर्मचारी र कूटनीतिक नियोगका अधिकारीलाई खोप लगाउन शुरु गरेको छ ।
यही माघ १४ गतेबाट शुरू भएको खोप अभियानको दोस्रो चरण सोमबारदेखि शुरू भएको थियो । शिक्षा सचिव गोपीनाथ मैनालीले सोमबारदेखि शुरू भएको दोस्रो चरणको खोप कार्यक्रमलाई पहिलो प्राथमिकताकै दोस्रो चरण भएको तर्क गरे । “खोपको प्राथमिकता तय गर्दा शिक्षकलाई पहिलो प्राथमिकतामै राखिएको छ,” सचिव मैनालीले भने, “मन्त्रालयको त्यो निर्णयमा कुनै फेरबदल भएको छैन ।”
सचिव मैनालीका अनुसार पत्रकार र विदेशी नियोगका कर्मचारीपछि शिक्षकलाई खोप लगाउने व्यवस्थाका लागि प्रयास भैरहेको छ ।