Notification

×

Iklan

Iklan

“अदालतको निर्णय सबैले मान्नुपर्छः” अध्यक्ष तिमिल्सिना

Saturday, February 6, 2021 | February 06, 2021 WIB Last Updated 2021-12-30T03:24:06Z

बेनी 

माघ २४




राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतले गर्ने निर्णयलाई सबैले स्वीकार गर्नुपर्ने विचार व्यक्त गरेका छन् । म्याग्दी उद्योग वाणिज्य संघको २७औं साधारण सभा तथा ११औं अधिवेशनको शनिबार बेनीमा उद्घाटन गर्दै तिमिल्सिनाले उक्त कुरा बताएका हुन् । 



प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतमा बहस भैरहेकोले सबैले त्यसलाई कुर्नुको विकल्प नभएको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । “सम्मानित अदालतमा यो विषय विचाराधीन छ । विघटन बदर भए पनि सदर भए पनि त्यसलाई स्वीकार गर्नुको विकल्प छैन ।” 





अदालतबाट हुने फैसला आफ्नो पक्षमा भए मात्रै मान्य हुने भन्ने धारणाले समस्या निम्त्याउने बताउँदै अध्यक्ष तिमिल्सिनाले कसैले पनि मुठभेड निम्त्याउने काम गर्न नहुने विचार व्यक्त गरे । राजनीतिक दलहरुको बलिदानी संघर्षबाट देशले गणतन्त्र प्राप्त गरेको बताउँदै तिमिल्सिनाले कुनै एक व्यक्तिले चाहेकै भरमा यो संविधान तलमाथि नहुने दृढता व्यक्त गरे । “लोकतन्त्रमा दलको विकल्प अर्को दलमात्रै हुन्छ,” उनले भने, “मुलुकलाई समृद्धि र विकासको बाटोमा लैजाने कि मुठभेडतिर भन्ने कुरा राजनीतिक दल र तिनका नेताको हातमा छ ।”



एक फरक प्रसङ्गमा बोल्दै अध्यक्ष तिमिल्सिनाले नेपालमा उद्योग र कलकारखानाको तुलनामा व्यापार बढी हुनु सुखद कुरा नभएको बताए । “हाम्रो देशमा राजनीति नगर्नु पर्ने ठाउँमा पनि राजनीति भैदिन्छ,” छिमेकी जिल्ला पर्वतका जिल्ला सभापतिसमेत रहिसकेका तिमिल्सिनाले भने,“सामाजिक, आर्थिकलगायतका गैरराजनीतिक क्षेत्रमा समेत दलीय आबद्धता प्रकट हुँदा संस्थागत विकासमा ध्यान पुग्न सकेको छैन । यतातिर पनि नीजि क्षेत्रको ध्यान जान आवश्यक छ ।” 



विधायिकाले बनाएका कानुनलाई सदर गर्नेमा आफ्नो भूमिका रहने बताउँदै तिमिल्सिनाले स्थानीय सरकारले पनि संघ र प्रदेशको सहयोग लिएर स्रोतसाधनको विकासमा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका थिए । 




कार्यक्रममा प्रतिनिधि सभाका सांसद भूपेन्द्रबहादुर थापा, संविधान सभाका सदस्य नवराज शर्मा र रेशमबहादुर बानियाँ, गण्डकी प्रदेश सभा सदस्य विनोद केसीलगायतले बोलेका थिए ।



कार्यक्रममा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यलगायतले म्याग्दी उद्योग वाणिज्य संघद्वारा प्रकाशित ‘स्मारिका–२०७७’ को समेत लोकार्पणसमेत गरेका थिए ।



वि.सं. २०२७ सालमा स्थापना भएको म्याग्दी उद्योज वाणिज्य संघको ११ औं अधिवेशन नयाँ नेतृत्व छनोट गर्दै समापन हुनेछ ।



×
Berita Terbaru Update