Notification

×

Iklan

Iklan

कम्युनिष्ट आन्दोलनको मूलधार अब एमाले नैः अध्यक्ष श्रेष्ठ

Wednesday, March 10, 2021 | March 10, 2021 WIB Last Updated 2021-12-30T03:23:34Z

 बेनी 

फागुन २७




नेकपा (एमाले), म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा एमाले नै भएको बताएका छन् । सर्वोच्च अदालतको फैसला र समसामयिक विषयबारे कालञ्जर अनलाईनसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले यस्तो दावी गरेका हुन् । 


नेकपा एमालेले आत्मसात् गरेको नीति, नेतृत्व र कार्यदिशा देश र जनताको पक्षमा भएको जिकिर गर्दै अध्यक्ष श्रेष्ठले पुष्पलालदेखि केपी शर्मा ओलीको नेतृत्वसम्म आइपुग्दा नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार एमाले नै हो भन्ने पुष्टि भएको उल्लेख गरेका छन् ।


प्रतिनिधि सभा विघटन र नेकपाको विवादका बारेमा सर्वोच्च अदालतले गरेका फैसलालाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँदै नेता श्रेष्ठले आफू अनुकूलको निर्णयमा विजयउत्सव मनाउने र प्रतिकूल जस्तो लाग्दा आलोचना गर्न नहुने विचार पनि व्यक्त गरेका छन् । “अदालतले कसैको स्वार्थलाई सम्बोधन गर्ने भन्दा पनि मौजुदा ऐन, कानुनमा टेकेर फैसला गर्ने हो,” अध्यक्ष श्रेष्ठले भने, “सर्वोच्च अदालतका पछिल्ला दुई ओटा फैसलालाई त्यसैरुपमै आत्मसाथ गर्न आवश्यक छ ।”


जनताको चाहना र देशको आवश्यकता अनुसार एमाले र माओवादी केन्द्रका बीचमा एकता भए पनि न्यूनतम शर्त पालना नभएका कारण दिगो बन्न नसकेको श्रेष्ठको भनाइ छ । नेकपा म्याग्दीको सचिव र एमाले म्याग्दीको अध्यक्षका रुपमा काम गर्दा खासै फरक महशुस नभएको बताउँदै अध्यक्ष श्रेष्ठले भने, “तर बाध्यताले स्विकारेको पदमा बसेर काम गर्नुपर्दा मनभित्र कताकता हीनताबोध भने हुने रैछ ।”



सर्वोच्च अदालतको फैसलापछिको नयाँ परिस्थितिमा आफ्नो जिम्मेवारी बढेको उल्लेख गर्दै श्रेष्ठले पार्टीमा कसैलाई पनि असमान व्यवहारको महशुस हुन नदिने प्रतिबद्धता जनाएका छन् ।




अध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानी जस्ताको तस्तै यहाँ पस्तुत गरिएको छः


कालञ्जर–संवादमा तपाईंलाई स्वागत छ ।


धन्यवाद ।


सर्वोच्च अदालतको पछिल्ला दुई ओटा फैसलालाई कसरी  हेर्नुभएको छ ?


यसलाई मैले स्वाभाविक रुपमा लिएको छु । सरकार र राजनीतिक दलहरुले गरेका ठूला र महत्वपूर्ण निर्णयहरु नेपालको संविधान र मौजुदा कानुनलाई टेकेर भएको देखिएन भनेर सर्वोच्च अदालतले फैसला गर्यो । त्यसैले अबदेखि निर्णय गर्दा सम्बन्धित पक्षले दूरदर्शिता अपनाउनु पर्छ भन्ने सन्देश यो फैसलाले दिएको छ ।


नेकपाको आधिकारिकताको सवालमा अदालतले कानुनी घेरा नाघेर राजनीतिक विषयमा प्रवेश गरेको भन्ने पनि छ नि ?


यसलाई हेर्ने र बुझ्ने दृष्टिकोण आआफ्नो  हुन सक्छ । मेरो विचारमा हामीले पार्टी एकता गर्दा र निर्वाचन आयोगले त्यस सम्बन्धमा आफ्नो निर्णय दिँदा कानुनी पक्षमा ध्यान नपुगेको विषयमा सम्मानित सर्वोच्च अदालतले औंल्याइदिएर फैसला गरेको हो । 


तर, सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्रबीच भएको एकता ‘कस्मेटिक’ थियो भन्ने देखाइदियो ।  हैन र ?


कस्मेटिक नै त नभनौं । त्यतिबेला राम्रै उद्देश्य राखेर गरिएको एकता थियो । त्यो एकताले तत्काल नतिजा पनि राम्रै दियो । तर, पार्टी एकताजस्तो दीर्घकालीन महत्वको विषयमा निर्णय गर्दा सैद्धान्तिक, वैचारिक, साङ्गठनिक र न्यूनतम कार्यक्रमजस्ता विषयमा सामान्य विधि, पद्धति नअपनाइएको र  हतारमा निर्णय गर्दा त्यो दिगो र स्थायी रहन सकेन  ।




एमाले म्याग्दीको अध्यक्षमा पुनर्बहाली भएसँगै तपाईं फेरि निर्णायक भूमिकामा आउनुभएको छ । खासमा ठूलो पार्टीको सचिव हुन जाति रैछ कि सानो पार्टीको अध्यक्ष हुन ?



हिजो एकता प्रक्रियामा भागबण्डा गर्दा म्याग्दी जिल्लालाई सचिव परेको परिस्थितिमा व्यक्तिगतरुपमा अरुचि भए पनि बाध्यताले स्वीकार गरेर काम गरेको थिएँ ।  अहिले सर्वोच्च अदालतले एमाले पार्टीलाई ब्युँताइदिएपछि पुनः अध्यक्षको भूमिकामा छु । हिजोको नेकपा होस् अथवा आजको एमाले, यी दुबै पार्टी मुलुककै ठूलो पार्टी भएकोले सानो, ठूलोको अर्थ त रहेन । बरु, बाध्यताले स्विकारेको पदमा बसेर काम गर्नुपर्दा मनभित्र कताकता हीनताबोध भने हुने गथ्र्यो । 


गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि अन्तजस्तै म्याग्दीमा पनि साविक एमाले दुई चिरा भयो । यसबीचमा एक–अर्काविरुद्ध आरोप–प्रत्यारोप, गालीगलौज पनि भए । नयाँ परिस्थितिमा अब कसरी अघि बढ्नुहुन्छ ?



प्रतिनिधि सभाको विघटनपछि त्यसको असर हाम्रो जिल्लामा पनि नपर्ने कुरा थिएन । केही साथीहरु यता र उता हुने क्रममा हल्काफुल्का आरोप–प्रत्यारोप पनि भए । तर,  अहिले परिस्थिति फेरिएको छ । हिजोका पूर्व एमालेहहरु सबै र पूर्व माओवादी केन्द्रका केही साथीहरु एमालेमा समाहित हुनुभएको छ ।  अब हिजोका प्रसङ्गलाई बिर्सेर पार्टी निर्माण प्रक्रियामा सबैलाई समेटेर नयाँ सोचका साथ अघि बढ्नेछौं । 




तर, तपाईंले सोचेजस्तो सजिलो होला र ?


खोइ मैले त केही समस्या देखेको छैन ।


 अदालतको फैसलापछि मूलघरमा फर्किएका र माओवादी केन्द्रबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापन कसरी गर्नुहुन्छ ?


मूलघरमा फर्किएको भन्ने कुरा नै गलत छ ।  शायद तपाईंले प्रतिनिधि सभा विघटनपछि बनेको नेकपाको माधव प्रचण्ड समूहतर्फ रहनुभएका साथीहरुलाई इङ्गित गर्नुभएको होला । हिजो एकता प्रक्रियामा सामेल हुँदा साविकका दुबै पार्टी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रुपान्तरण भएका थियौं । अहिले अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र पार्टीलाई ब्युँताइदिएपछि साविक एमालेका सबै कमरेडहरु र साविक माओवादी केन्द्रका केही कमरेडहरु फेरि एमालेमा समाहित भएका हौं । त्यसैले साविक एमालेका कमरेडहरुको हिजो जे जिम्मेवारी थियो अहिले पनि त्यो यथावत् छ  भने साविक माओवादी केन्द्रबाट आउनुभएका कमरेडहरुलाई उहाँहरुको हिजोको जिम्मेवारीका आधारमा र योग्यता, क्षमता अनुसार उचित जिम्मेवारी दिइनेछ ।


‘पुराना’ र ‘नयाँ’ भन्ने होला नि ? यसले पार्टीभित्रको शक्ति सन्तुलनमा फरक नपार्ला ?


मैले माथि नै भनिसकें । हिजो पार्टी दुई समूहमा विभाजित हुँदा केही तिक्तता, आरोप–प्रत्यारोप भए तर, अहिले सबै एमाले भैसकेपछि नयाँ–पुरानो भन्ने कुरा नै रहेन । नेकपा (एमाले) सर्वहारा, श्रमजीवी वर्गको पक्षमा लाग्ने सबैको साझा घर हो । हिजोको पदीय जिम्मेवारी सबैको फर्किएको छ । जहाँसम्म पूर्वमाओवादी केन्द्रबाट आउनुभएका कमरेडहरुको सवाल छ, उहाँहरुलाई उचित जिम्मेवारी दिइने कुरामा कुनै अन्यथा हुँदैन । 


निष्कर्षमा भन्दा अदालतको आदेशबाट ब्युँतिएको नेकपा (एमाले) लाई ‘नयाँ’ र ‘पुराना’ कार्यकर्ताको साझा घर बनाउने आधार के के हुन् त ?


नेपाली जनताहरुको ईच्छा, चाहना र मुलुकको आवश्यकताको हिसाबले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिएको हो । तर, सामान्य विधि, पद्धति र प्रक्रिया नपुग्दा र नेतृत्वबीचको इगो हावी हुँदा दुई पार्टीबीचको एकीकरण दिगो रहन सकेन । यसबाट सबैले पाठ सिक्न आवश्यक छ । जहाँसम्म एमालेलाई सबैको साझा घर बनाउने सवाल छ, यसमा नेतृत्व तहबाट कुनै पनि किसिमको असमान व्यवहार गरिने छैन । यसमा ‘नयाँ’, ‘पुराना’ वा ‘अन्तबाट आएका’ भन्नेजस्ता आधारमा कुनै विभेद गरिने छैन । लोकतान्त्रिक मूल्यमान्यता अनुसारको साङ्गठनिक विधि र पद्धतिभित्र रहेर आफ्नो श्रेष्ठता कायम गर्न चाहने जोकसैले पनि एमालेलाई आफ्नो घर सम्झिँदा हुन्छ ।


अन्त्यमा केही भन्नु छ कि ? 


नीति र नेतृत्व दुबै दृष्टिबाट हेर्दा नेपालको कम्युनिष्ट आन्दोलनको मूलधार नेकपा (एमाले) नै हो भन्नेमा कुनै शङ्का छैन । संविधानले परिकल्पना गरेको समाजवादको यात्रा तय गर्न हाम्रै पार्टीको नेतृत्व आवश्यक र सक्षम छ भन्ने हाम्रो दावी हो । बृहत् कम्युनिष्ट एकताको अवधारणाअनुसार दुबै पार्टीको शीर्ष नेतृत्वले इमानदार प्रयास पनि गरेको थियो । विविध कारणले त्यो दिगो हुन सकेन । नेपालका कम्युनिष्ट पार्टीहरुमध्ये नीति, नेतृत्व र अहिलेसम्मको अभ्यासका हिसाबले नेकपा एमाले सबैभन्दा स्पष्ट भएकोले अन्य पार्टीमा रहेका इमानदार नेता–कार्यकर्तालाई पनि एमालेमा समाहित भई सँगै काम गरौं भन्ने मेरो आग्रह छ ।



×
Berita Terbaru Update