बेनी
फागुन २८
गिरीश गिरी
![]() |
शरीरलाई कालो अघोरी वस्त्र र छालालाई धुवाँ–खरानीको बाक्लो पत्रले ढाकेपछि सबै उस्ताउस्तै देखिने नै भए । तर, मेरो नजर त त्यो दक्षिण एशियाको भन्दा बेग्लै देखिने निलो आँखामा थियो ।
जोगीको भेषमा माग्न बसेका बहुरुपी र तमासा लगाएर गाँजा तान्दै गरेका जोगीहरु छिचोलेपछि म उनको सामुन्ने पुगेकोे थिएँ । धुनी जगाएर बसेका ती अघोरी र मेरो आँखा मिल्दै गयो–दूरी घट्दै गयो ।
पशुपति क्षेत्र विकास कोषले दिएको दाउराका मुढाबाट निस्केको धुँवा पिरो रहेछ । उनी थोरै ढल्किएर ‘फू’ गर्न थाले । म नजिकै पुगिसकेको थिएँ । दाउरा सल्केर कोइला भइसकेको एउटा भागमा चिम्टाले हल्का ठोके । अलिकती धुलो झ¥यो । त्यसमै बुढी औँला धसे र मतिर हेर्दै सोधे, ‘टीका?’
मैले निधार दिनुको सट्टा प्रश्न गरेँ । ‘बाबा आप कहाँसे आए हैँ ?’
उनी अलमलिए, टाउको घुमाए र बुढी औंला टक्टक्याए । ‘बाबा आप कहाँसे आए हैँ‘’ अघि भनिएकै शब्द उनले पटक पटक बर्बराए र मलाइ बेवास्ता गरेर अन्तैतिर हेर्न थाले । उनको उच्चारण र गतिविधिले मलाई आफ्नो अनुमानको झनै नजिक पु¥यायो ।
म एक फन्को लगाएर आसनकै पछिल्तिर पुगेँ ।
उनले आँखा टेढो पारेर मतिर हेरे । एकैछिनमा जुरुक्क उठे र सरासर छेवैमा आएर बोले, ‘नो कोइस्चन, नथिंग’
मेरो अनुमान सही निस्कियो । यी पश्चिमा मुलुकका साधु रहेछन् ।
‘क्या हुआ?’ अर्का भारतीय अघोरी त्यहाँ आइपुगे ।
मैले पश्चिमातिर हेर्दै बोलेँ, ‘टीका !’
‘टीका,’ ती पश्चिमाले भारतीयलाई अह्राउँदै मतिर हेरे र अघिकै आक्रोशमा फेरि बोले, ‘नो कोइस्चन ।’
भारतीय साधुले अलिकती खरानी ल्याएर मेरो निधारमा घसिदिए । साथमा रहेका पश्चिमा आफ्नो पनि गुरु रहेको बताउँदै उनलाई नबिथोल्न आग्रह गरे। मैले ‘चेला’बाटै भए पनि केही जान्ने प्रयत्न थालेँ ।
‘मेरो नाम भट्केश्वर नाथ हो,’ भारतीयले उनकै भाषामा भने, ‘राजस्थानको खटु श्यामजी मठबाट आएको हुँ ।’
हरियाणाको पानीपतमा जन्मेका भट्केश्वर नाथले आठ वर्ष नपुग्दै बाआमा दुर्घटनामा गुमाएका रहेछन् ।
‘त्यहीबेलादेखि बैराग लाग्यो,’ भने, ‘मठ मन्दिर चहार्दै जोगीहरुको संगत सुरु गरेँ।’
सुरुमा सर्सर्ती त्यो कालो वस्त्रतर्फ हेरेपछि आफ्नो नजरलाई उनको आँखामै अड्याएँ । त्यसपछि अघोरी र अन्य बाबा बीचको अन्तर सोधेँ ।
‘शैव धर्मको बर्चस्वका लागि बैष्णव साधुबाहेक पनि संगठित शक्ति चाहियो भन्ने लागेपछि हामी नाथ र नागाहरु जन्मेका हौं,’ उनले भने, ‘म जस्ता नाथहरुले गर्ने कर्म नै अघोरी हो ।’
उनका अनुसार यो कर्म पूर्णतया मसान घाटसँग जोडिएको छ । बैष्णव साधुहरुले जथाभावी खाने पिउने गर्दैनन् । तर, आफूहरु चाहिँ जे पनि मनलाग्दी उपभोग गर्न स्वतन्त्र रहेको उनले खुलाए ।
शिवरात्रिको बेलामा यतिधेरै साधुसन्तहरु किन पशुपतिनाथमा जम्मा हुन्छन् भन्ने मेरो अर्को जिज्ञासा उनलाई मन परेनछ ।
‘यो किन भन्ने प्रश्न नै बहुत खराब छ,’ उनले थपे, ‘यो प्रथा हो र त्यसैलाई हामीले निरन्तरता दिइरहेका छौं । यो संसार तपाईँ र मैले आज सुरु गरेको होइन । जसरी तपाईंका पुर्खाले मान्दै आएको कुरा तपाईँ पालना गरिरहनुभएको छ त्यसैगरि हामी साधु सन्न्यासीहरु पनि आफ्ना प्रथाको पालना गरिरहेका छौं । यस्तो कुरालाई किन भनेर प्रश्न गर्न मिल्छ ?’
६ वर्षको अन्तरालमा दोस्रोपटक नेपाल आइपुगेका भट्केश्वरनाथ नेपालमै बस्दैआएका अर्का अघोरी त्यागीनाथका पनि सागिर्द थिए ।
भष्मेश्वर घाटमा बस्दैआएका त्यागीनाथ बाबाको गत वर्ष निधन भयो ।
त्यागीनाथ नेपाल आएका अझ पहुँचेका बाबा डा. रामनाथ अघोरीका शिष्य थिए ।
राजा त्रिभूवनकै बेलामा बंगालतिरबाट इन्जिनियर रामनाथ अघोरी नेपाल आएका थिए । भारतीय सहयोग निगमको कुनै निर्माण परियोजनामा इन्जिनियर भई आएका उनलाई नेपालमा कार्यरत रहँदाकै बखत बैराग्य लाग्यो र त्यसपछि फर्केर भारत गएनन् । पशुपतिकै भष्मेश्वरमा धुनी जगाएर बसे। २०१३ सालतिर त्रिभूवन विश्वविद्यालय स्थापनाका लागि डा. रामनाथ अघोरीको महत्वपूर्ण योगदान अहिले पनि धेरैले स्मरण गर्छन् । अघोरी बाबा डा. रामनाथको भष्मेश्वरस्थित आश्रममा राजा त्रिभूवन र महेन्द्र दुवै नियमित दर्शन गर्न पुग्थे ।
पछि २०२२ सालतिर भने उनी फर्केर भारत गए। उतै निधन भयो। उनको नेपालमै अन्त्येष्टिको चाहना थियो जुन पुरा भएन। पछि बिगुतहरु ल्याएर यता समाधिस्थ गरिएको बताइन्छ ।
तिनै पहुँचेका अघोरी बाबा डा. रामनाथले नेपालमा रहँदा तीनजना मुख्य शिष्य जन्माएका थिए । त्यसमध्येका सबैभन्दा जेठा थिए त्यागीनाथ। त्यागीनाथ होमियोप्याथीका चिकित्सक पनि थिए ।
डा. रामनाथका माइला शिष्य चाहिँ चुनचुन बाबा थिए ।
चुनचुन बाबा श्रीलंकाबाट आएका थिए। टुरिष्ट गाइड भई नेपाल आएका उनी पनि बैराग्य भएर यतै बसेका थिए ।
पशुपति क्षेत्रमा प्राणीहरुलाई माया गर्ने अघोरी बाबाको रुपमा अहिले पनि चुनचुन बाबाको स्मरण गरिन्छ। उनी करुणाका प्रतिमूर्ति नै मानिन्थे। ठूलो संख्यामा गाईगोरु कुकुरहरुलाई पाल्ने र खुवाउने गर्थे। घरमा लाग्ने किरा फट्यांग्राहरुलाई पनि उनी स्नेहपूर्वक पालेरै राख्थे। आफ्नै शरीरभित्र रहेका जुम्रालगायतका किराहरुलाई असर पर्छ भन्ने मान्यता राखेका चुनचुन बाबाले लगाएको कपडा खोलेको कहिल्यै कसैले देखेनन् ।
डा. रामनाथका कान्छा शिष्य पगला बाबा चाहिँ उत्तर प्रदेशतिरका थिए । उनले योगसिद्धि प्राप्त गरेका थिए। सदैव पिएर बसेका जस्ता देखिन्थे। आफूलाई ‘गड इन्टक्सिकेटेड’ भन्थे । पगला बाबाकहाँ भेट्न जाने कतिपयले उनले आफूले तान्दै गरेको चुरोट छेउमा राखेको खप्परको मुखमा पनि हालिदिने र त्यो बेला खप्परले पनि चुरोट तानिरहेको देखेको भनाइहरु बाहिर आएका छन्। तर, यस्ता कुरा पगलाबाबाले सार्वजनिक प्रदर्शन चाहिँ कहिल्यै पनि गरेनन् ।
पशुपतिनाथको दक्षिण रुप अघोर भएकाले पनि परापूर्व कालदेखि नै अघोर सिद्धि तपस्याका लागि अघोरीहरु यहाँ आउने गरेको बताइन्छ। त्यसै क्रममा पछिल्लो समय सबैभन्दा प्रभावकारी देखिएका डा. रामनाथ अघोरी नै हुन्।
अहिले त उनकै शिष्यहरु पनि सबैको देहावसान भइसकेको छ।
सबैभन्दा पहिले चुनचुन बाबाको १५ वर्ष पहिले निधन भयो। त्यसपछि पगला बाबा। र, गत वर्ष त्यागीनाथ बाबाको पनि भष्मेश्वरमै निधन भयो। त्यागीनाथको निधनपछि सुरुमा उनको समाधि त्यहाँ बनाउन दिइएको थिएन। पछि स्थानीय र उनका शिष्यहरुको दबाबमा त्यो अनुमति पनि प्राप्त भयो।
भटकेश्वर नाथका अनुसार भारतमा भने यस्ता अग्रज अघोरीहरु असाध्यै धेरै छन्।
जो जतासुकै रहे पनि आफ्नो परिवारका अग्रजहरुको हिसाबकिताब सम्पूर्ण अघोरीहरुले राख्नेगरेको उनले जानकारी दिए।
नेपाल आएका रामनाथबाहेक किन्नाराम र गणेश अघोरी जस्ता गुरुहरु आफ्नो सम्प्रदायका अगुवा रहेको बताउने भट्केश्वर नाथका अनुसार ती सबै समाधिस्थ भइसकेका छन्।
कुराकानीकै क्रममा उनले साथमा बसेका पश्चिमाको नाम ‘गंगानाथ जी’ रहेको बताए।
‘दसौँ वर्षदेखि भारत आवतजावत गरिरहनुभएको उहाँ फ्रान्सेली नागरिक हो,’ उनले थपे, ‘म पीर हुँ भने उहाँ मभन्दा पनि ठूलो फकिर हुनुहुन्छ।’
ती फ्रान्सेली गुरु पहिलोपटक नेपाल आएको जानकारी पनि उनैले दिए।
फ्रान्समा यिनको नाम के थियो? को हुन् ? के गर्थे ?
‘यो बारेमा त न मलाइ थाहा छ न मतलब छ,’ उनले थपे, ‘तपाईँले यस्तै सोध्न खोज्नुभएको भेउ पाएर उहाँ बिच्किनुभएको हो ।’
यस्ता विदेशीहरु किन साधु बन्न आइपुग्छन् ?
यो प्रश्नमा भट्केश्वर नाथले मलाइ लामै जवाफ प्रस्तुत गरे–
‘को स्वदेशी हो र को विदेशी हो भन्ने कुराको मतलबै छैन। मानिस जो कोही पनि कुन परिस्थितिमा साधु बन्छ वा गृहस्थी बन्छ भन्ने कुरा केवल माथि बसेकालाई थाहा हुन्छ। उनैले चाहेअनुसार सबैथोक चल्छ। माथि बसेकाले नै मलाई आजसम्म साधु बनाएका हुन्। भोलि उनले चाहे भने तुरुन्तै मलाई नारीको साथमा लगाइदिन्छन्। सबै प्राणीमा हुने त्यो मोहलाई आजसम्म मैले जित्दै आएको पनि उनैले चाहेर हो। मैले तपाईँलाई अहिले यहीँनिर लगाएका सबै लुगा फुकाल्नुस् भनेर अह्राएँ भने फुकाल्नु हुन्छ? (उनले दोहो¥याएर सोधे) फुकाल्नु हुन्छ? (फेरि आफैले जवाफ दिए) फुकाल्नु हुँदैन। किनभने तपाइ मोहमा फस्नुभएको छ। जबकि यसबाट मुक्त भएरै हामी साधु भएका छौं। यो कसलाइ कुन क्षणमा हुन्छ, थाहा हुँदैन। यस्तै कुनै क्षणमा यी विदेशी पनि साधु भएका हुन्।’
हिन्दू धर्ममा लागेका सबैजसो साधुसन्तलाई शिवरात्रिको बेला पशुपतिको दर्शन गर्ने इच्छा हुनेगरेको कारण नै आफूहरु यहाँ आइपुगेको उनले बताए।
‘यो हिमालयको देश हो,’ उनले थपे, ‘नेपाल आउनु र ध्यान तपस्या गर्नु साधुसन्तको परापूर्वकालदेखिको परम्परा हो।’
पशुपतिको दर्शनपछि मुक्तिनाथ, भारतको कामक्षादेवी, तारापिठ हुँदै अनेक मन्दिर र तीर्थ भ्याएर राजस्थानस्थित मठ फर्कँदा वर्षदिन पनि लाग्नसक्ने उनले जानकारी दिए।
यसरी डुल्दै हिँड्दा कहिलेकाहिँ मिठो भोजन पनि मिल्ने त कहिले केही दिनसम्मै भोकै पनि सुत्नुपर्ने उनले बताए।
‘म ४१ दिनसम्म भोकै बसिसकेको छु,’ उनले थपे, ‘इच्छा लागेको कुन ठाउँ पुग्दा के होला भन्ने हिसाबकिताबै हुँदैन।’
‘शिवरात्रिकै निम्ति हिजोअस्तिसम्म पनि पाइलटबाबा आइरहनु हुन्थ्यो,’ पशुपतिकै विषयमा विद्यावारिधि गरेका डा. गोविन्द टण्डन भनिरहेका थिए, ‘यो अवसरमा ठूला साधु महात्माहरु आउने यहाँ परम्परा नै छ ।’
हाम्रा कुराकानी अब शिवपुरी बाबा र खप्तड बाबातर्फ मोडिए ।
सन् १९२६ को मार्च महिनामा शिवरात्रीकै समय पारेर एकजना साधारण देखिने बाबा काठमाडौं आइपुगेका थिए। यस्ता साधारण भेषभूषाका बाबाहरु सामान्य बनेर नै सडकमा हिँड्छन्। तर, उनी कति असामान्य व्यक्ति हुन् भन्ने कुरा त्यतिबेला अरु कसैलाई थाहा नभए पनि नेपालस्थित बेलायती रेसिडेन्ट (त्योबेला भारतमा अंग्रेजको शासन थियो र नेपाल रहने उसको राजदूतलाई रेसिडेन्ट भनिन्थ्यो) विल्किन्सन् राम्ररी परिचित थिए ।
बग्गीमा चढेर कतै जाँदै गरेका विल्किन्सन्ले अचानक हुलमा देखेका व्यक्ति गोविन्दनाथ भारती (पछि शिवपुरी बाबा) थिए। उनै शिवपुरी बाबा जो पश्चिमाले नजिकबाट चिनेको पहिलो प्रभावशाली भारतीय साधु थिए। त्यो बेलाको बेलायत र त्यतिखेरकै त्यहाँकी महारानी भिक्टोरिया। त्यो साम्राज्यकालीन शक्तिको अहिले अनुमान मात्र लगाउन सकिन्छ। बेलायत भ्रमणका बेला यी दक्षिण भारतीय साधुको महारानीसँग अत्यन्त निकटताबारे लेखिएको पुस्तकका अनुसार अठार पल्टभन्दा बढी त औपचारिक भेटघाटै भएको थियो ।
त्यो भ्रमणमै तत्कालीन शक्तिशाली बेलायती सर्जक जर्ज बर्नाड शासँग भएको यी बाबाको संवाद पनि चर्चित थियो ।
‘तपाईँ भारतीय जोगीहरु ध्यान भनेर वर्षौं बिताउनु हुन्छ। समयको कुनै कदर नै गर्नुहुँदैन। अत्यन्तै प्रयोजनविहिन मान्छे।’ बीसौँ शताब्दीकै एकजना प्रभावशाली व्यक्तिले प्रधानमन्त्रीकै कार्यकक्षमा यस्तो भनेपछि शिवपुरी बाबा पनि चुप लागेनन्।
‘मैले हेर्दा त तपाइँहरुलाई नै समयको दास पो देख्छु। हामी त अनन्त कालमा बाँच्ने मान्छे हौं।’
यस्ता असंख्य सन्दर्भहरु शिवपुरी बाबासँग जोडिएको कुरा ती बेलायती दूतलाई थाहा थियो। त्यसैले उनी बग्गीबाट ओर्लिए र काठमाडौंको सडकमा हिँडिरहेका बाबाको सामुन्ने पुगे।
‘बाबा मैले तपाईँको निम्ति के सेवा गर्न सक्छु?’ ती बेलायती दूतले कुराकानीकै क्रममा सोधेछन्।
त्यो बेलामा बाहिरियाहरुलाई काठमाडौं घुम्न वर्षमा एक पटक मात्र मौका मिल्थ्यो। त्यही शिवरात्रीमा। त्यो पनि केवल सात दिनको भिसामा। त्यसभन्दा एक दिनपनि यताउता गर्न पाइन्थेन।
‘मलाई यो ठाउँ असाध्यै मनप¥यो,’ भिसा सकिएर फर्किने बेला भइसकेका बाबाले भनेछन्, ‘मिलेदेखि यतै आश्रम बनाएर बस्ने इच्छा थियो।’
त्यो राणा शासनको बेला थियो र बाबाको यस्तो इच्छा सुन्ने मानिस उस्तै शक्तिशाली बेलायती दूत थिए। त्यसैले काठमाडौंको उत्तरतर्फको एउटा जंगलमा बाबालाई आश्रम बनाएर बस्ने अनुमति मिल्यो।
काठमाडौं आउँदै सय वर्ष पुगिसकेका बाबाले त्यसपछि सम्पूर्ण जीवन यही उपत्यकामा ब्यतित गरे। बाबा एक सय ३७ वर्ष बाँचेका थिए। उनले ध्यान र तपस्या गरेको जंगलकै नाम ‘शिवपुरी बाबा’बाटै उनी परिचित बने।
एउटा अर्को रोचक सन्दर्भ पनि शिवपुरी बाबासँग जोडिएको छ ।
राजा महेन्द्रको गद्दीआरोहणका बेला अतिथि बनेर तत्कालीन भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णन् काठमाडौं आइपुगेका थिए। यसरी आएका त्यत्रो महत्वपूर्ण पाहुना अचानक विमानस्थलबाटै गायब भए।
दौडादौड मच्चियो।
पछि त उनी तिनै शिवपुरी बाबाको आश्रममा पो भेटिए।
राष्ट्रपति राधाकृष्णन् केवल एउटा प्रश्न लिएर शिवपुरी बाबा भेट्न गएका थिए। त्यो प्रश्नको सानो उत्तर नै यति प्रभावकारी थियो जसलाई सुनेर राष्ट्रपति सन्तुष्ट हुँदै फर्केका थिए। अध्यात्म, नैतिकता र शरिरबारे त्यो प्रश्न र उत्तरलाई लिएर बाबाका बारे पछि उनका अंग्रेज शिष्य जोन बेनेटले तयार पारेको पुस्तक ‘लङ्ग पिल्ग्रिमेज’मा विस्तारमा वर्णन गरिएको छ ।
शिवरात्रीकै अवसर पारेर शिवपुरीबाबा भन्दा पछि आइपुगेका अर्का भारतीय महात्मा थिए खप्तड बाबा। यी दुवै बाबा साधु सन्यासीको लश्करसहित नेपाल प्रवेश गरेका थिए। र, बाँकीको जीवन यतै बिताए ।
सन् १८८० तिर कश्मीरमा जन्मेका बाबा सुरुमा मेडिकल डाक्टर थिए। तर, दुनियाँदारी त्यागेर ध्यानमा रमाउने इच्छा भएपछि उनले सन्न्यास लिए। भगीरथी नदीको किनारमा स्वामी ज्ञानआश्रमबाट दीक्षा लिए। यसरी स्वामी सचितानन्द सरस्वती शिवरात्रीको अवसर पारेर नेपाल प्रवेश गरेका थिए। त्यसपछि इलाम, कालिन्चोक, स्वर्गद्वारी, मुसीकोट, चन्दननाथ हुँदै अन्तिममा उनले सबैभन्दा लामो कालखण्ड (५० वर्ष) खप्तडमा बिताए। त्यो स्थानबाटै उनको नाम मात्र रहन पुगेन, उनकै प्रभावबाट डोटी, बझाङ, अछाम र बाजुरामा फैलिएको यो उच्च भूमि राष्ट्रिय निकुञ्जसमेत घोषित हुनपुग्यो।
कुनै समय पशुपतिनाथको पुजाआजा शिवरात्रीमा भीँड लगाउने यिनै सन्न्यासीहरुबाटै हुन्थ्यो।
लिच्छवि कालको सन्दर्भ उल्लेख गर्दै डा. टण्डन भन्छन्, ‘त्यतिखेर पुजाआजा गर्ने सन्न्यासीमा पनि नश्रृखलिक, श्रृखलिक र पासुपतजस्ता सम्प्रदायहरु थिए। जुन सम्प्रदायको उल्लेख भारतमा पाइँदैन।’
यहाँका सन्न्यासीहरु पनि विभिन्न समयमा शंशोधन हुँदै र नयाँ नयाँ थपिदै गए।
‘पशुपतिनाथको मन्दिरसँग सम्वन्धित साधुहरु भनेका दशनामीहरु हुन्,’ टण्डन भन्छन्, ‘त्यसमा पछि गएर थपिएका चाहिँ नागा हुन्।’
लिच्छवि कालमै पशुपतिनाथ वरपर पर्खाल बनाउने एकजना सन्न्यासीको बारेमा शिलापत्रमा उल्लेखै छ। त्यतिबेला पशुपतिनाथको नाम पनि राज्यवद्र्धनदेव भनिएको देखिन्छ। त्यतिखेर देखि नै राज्यको वद्र्धन गरिदिने अथवा समृद्धि बढाइदिने भनेर यो मन्दिरको महत्व देखाइएको छ।
यसरी सन्न्यासीहरुले पुजा गर्ने परम्परा चल्दै आएकोमा पछि गएर आमद्र्धक अग्नी मठ परम्पराका गुरु विसं ११९९मा आएपछि भट्टहरुको परम्परा सुरु भयो। बीचमा फेरि भट्ट परम्परा रोकिएर सन्न्यासीहरुले पुजा गर्न थाले। यो क्रम चल्दै गयो। राघवदेवको पालामा त्यहाँ अलिकती खटपट सुरु भयो। पछि त्यो परम्परा पनि सकियो र दक्षिणात्य भट्टहरुको सुरु भयो।
‘दक्षिणात्यमा पनि विन्द्याचलदेखि दक्षिणतिरका भट्टहरु ल्याइन थालिए,’ टण्डन भन्छन्, ‘राजा जगतजय मल्लको पालादेखि यो परम्पराले निरन्तरता पाउँदै आएको छ।’
दक्षिणभारतमा मुगलहरुको प्रभाव विस्तार नभएका कारण उताका हिन्दू ब्राह्मणहरुले अटुट रुपमा आफ्नो परम्परा निर्वाह गर्दैआएको बताइन्छ। त्यसैले नै दक्षिणात्य (दक्षिण भारतीय) ब्राह्मणलाई चोखो र सदाचारमा पनि पवित्र मानिने गरेको टण्डन सुनाउँछन्।
‘त्यसबाहेक नेपालमा शिवस्व नखाने चलन थियो,’ उनले थपे, ‘त्यसैले यताका प्रसिद्ध शिव मन्दिरहरुमा भारतबाटै पुजारीहरु ल्याउने परम्परा सुरुभएको पाइन्छ।’
यसरी कुनै समय सन्न्यासीहरुले नै पुजा गर्दैआएको पशुपतिमा उतिबेला आदि शंकराचार्य पनि आएको चर्चा मानिसहरु गर्छन्। तर, टण्डनका अनुसार त्यसलाई पुष्टि गर्ने प्रमाण भेटिएको छैन।
‘आचार्य मठले यहाँ वंशावली परम्परालाई आधार बनाएर आदि शंकराचार्य आउनुभएको उल्लेख गरेको छ,’ टण्डन भन्छन्, ‘जबकि स्वयं आदि शंकराचार्यले नै आफु घुमेका स्थानहरुको वर्णन गरेर तयार पार्नुभएको पुस्तक ‘शंकर दिग्विजय’मा पशुपतिनाथको कुनै चर्चा नै छैन।’
यति हुँदाहुँदै पनि वेद पुराणमा उल्लेख गरिएको पशुपतिनाथको एकमात्र महत्वपूर्ण मन्दिर यहाँबाहेक संसारमै अन्यत्र कतै नहुनुले यो स्थानको महत्व साबित गर्ने टण्डन सुनाउछन्।
‘महाभारतमा पशुपतिनाथमा आएर वृषभध्वज चढाएको सन्दर्भ छ,’ टण्डन थप्छन्, ‘त्यसैगरी शिव पुराणको ‘कोटी रुद्र संहिता’मा त भगवान पशुपतिनाथलाई केदारनाथको शिर हो भनेरै लेखिएको छ ।’
यस्तो महत्वकै कारण शिवरात्रीको समय पारेर ठूल्ठूला ज्ञानी र साधु सन्तहरु पशुपतिमा भेला हुने परम्परा चल्दै आएको उनले जानकारी दिए।
‘हामीले चिन्दै नचिनिकन कति साधु सन्त महात्माहरु आफ्नै सुरले तपस्या गर्नुहुन्छ र फर्कनुहुन्छ,’ उनी भन्छन्, ‘यसरी आउने, ध्यान गर्ने र जाने कतिपय देख्दा नपत्याउँदा हुन्छन् ।’
यसरी पहिचान नखुलाइकनै आफ्नै सुरमा आउने र फर्कने बाबाहरुको पहिचान गर्ने र सम्मान दिने कुनै पनि प्रयास पशुपति क्षेत्र विकास कोषले गर्दैन ?
जवाफमा कोषका सदस्यसचिव समेत रहिसकेका टण्डनले त्यस्ता बाबाहरुले सम्मान लिनै नचाहने बताए ।
तीमध्ये कतिपय त कोहि बौलाहाजस्ता वा कोहि असाध्यै फोहोरी भएर बसेका देखिन्छन्। हत्तपत्त कोहि नजिक जानै चाहँदैन। त्यस्ताहरुको सानिध्य प्राप्त गरेर कुरा खोतल्न जो कोहिलाइ अलिक कठीन पनि हुन्छ।
यो सबलाई हेरेर नै ‘पशुपति क्षेत्रमा भगवान विभिन्न रुपमा आउनुहुन्छ’ भन्ने चर्चा व्यापक बनाउदै लगिएको टण्डन सुनाउँछन्।
‘अहिले धेरैजसो बाबाहरु त्याग र तपस्याभन्दा पनि मिडियाले हाइलाइट गरेपछि ठूला बनेका भेटिन्छन्, हुल पनि उनीहरुतिरै लागिरहेको हुन्छ,’ टण्डनको भनाइ छ, ‘जबकि यहीँ पशुपतिमा हामी कहिलेकाहिँ साधारण पहिरन र सामान्य बनेर आएका महत्वपूर्ण साधु सन्तहरु भेटिरहेका हुन्छौं।’
त्यस्ता साधुसन्त यो वर्ष पनि आएका हुनसक्छन्। तर, पशुपतिकै वरपर जीवन बिताएका अनि साधुसन्तका बारे राम्रो जानकारी राख्नेहरुले समेत पत्तो पाउन मुश्किल पर्ने त्यस्ता महात्माहरु हाम्रा नजरले त झनै भेट्दैनन्। त्यसमाथि यसपाला कोरोना महामारीले गर्दा पशुपति परिसरमा अघिल्ला वर्षहरुको तुलनामा आगन्तुक जोगीहरु धेरै कम देखिन्छन्।
देशसञ्चारबाट साभार



