बेनी
फागुन २९
रघुगङ्गा गाउँपालिका–७, चिमखोलामा निःशूल्क आँखा शिविर सम्पन्न भएको छ । हाम्रो सामुदायिक अचल कोष र मण्डली यूवा क्लब चिमखोलाको आयोजना तथा नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा शनिबार शिविर सम्पन्न भएको हो ।
जम्मा २१२ जनाको आँखा परीक्षण भएको शिविरमा ३ जनालाई मोतियाबिन्दुको शल्यक्रिया गर्नुपर्ने समस्या देखिएको आँखा उपचार केन्द्र बेनीका प्रममुख डा. दिनेश बानियाँले जानकारी दिएका छन् ।
शिविरमा परीक्षणका लागि पुगेका नागरिकलाई आवश्यक पर्ने औषधि र चश्मा निःशूल्करुपमा उपलब्ध गराइएको नेपाल नेत्रज्योति संघ, म्याग्दीका सदस्य एवं स्वास्थ्यकर्मी सोमनाथ अधिकारीले जानकारी दिएका छन् ।
शिविरमा रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, नेपाल नेत्रज्योति संघ म्याग्दीका सभापति अमर बानियाँ, उपसभापति याम शाक्य, सचिव एवं बेनी नगरपालिका–७ का वडा अध्यक्ष राजेन्दञ्कुमार श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
शिविरमा नेपाल नेत्रज्योति संघ म्याग्दीका केन्द्रका प्रमुख दिनेश बानिया र संघका सदस्य सोमनाथ अधिकारीले आँखा परीक्षणका साथै आवश्यक परामर्श दिएको आयोजकले जनाएको छ ।
शिविर सम्पन्न गर्नका लागि संघका सदस्य एवं चिमखोला स्थायी घर भई हाल बेनी बस्दै आएका रामबहादुर र भुलुमायाँ तिलिजा तथा प्रेम पुर्जा र डिलकुमारी पुर्जाले आर्थिक सहयोग गरेको स्थानीय समाजसेवी गम पुनले जानकारी दिएका छन् ।
म्याग्दीमा यसअघि लायन्स क्लबका विभिन्न शाखाले आँखा शिविर आयोजना गर्दै आएका थिए । पछिल्लोपटक नेपाल नेत्रज्योति संघ अन्तर्गत आँखा उपचार केन्द्र, म्याग्दीको गठन भएपछि यो संस्थाले पनि आँखाको परीक्षण र उपचारमा सकृयता बढाउँदै लगेको छ ।
आँखा उपचारका लागि सहज होस् भनेर संघले सदरमुकाम बेनीको क्याम्पसचोकमा कार्यालय स्थापना गरी नियमितरुपमा सेवा दिँदै आएको छ ।