बेनी
चैत १
नेकपा माओवादी (केन्द्र), म्याग्दीले कार्यालय स्थापना गरेको छ । आइतबार आयोजित एक कार्यक्रमबीच सो पार्टीको जिल्ला सङ्गठन कमिटीले बेनीमा कार्यालय स्थापना गरेको हो ।
सो अवसरमा नेकपा माओवादी (केन्द्र), म्याग्दीका अध्यक्ष गोविन्द पौडेल, गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विश्वकर्मा, प्रदेशसभा सदस्य तथा प्रदेश कमिटी सदस्य विनोद केसी, बेनी नगर कमिटी अध्यक्ष शेरबहादुर केसी लगायतका नेता–कार्यकर्ताहरुको उपस्थिति थियो ।
गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलासँगै ब्युँतिएको अर्को वाम पार्टी नेकपा (एमाले)ले यसअघि नै हाँडेभीरस्थित शहीद स्मृति भवनमा नयाँ बोर्ड राखिसकेको छ ।
सर्वोच्चको फैसलाले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलले नेतृत्व गरेको पार्टीले पाउने र साविक एमाले र माओवादी केन्द्रका रुपमा रहेका दुबै पार्टीको अवस्था २०७५ जेठ २ गतेको अवस्थामा पुगेको निर्णय सुनाएको थियो ।
स्थिरता र समृद्धिको एजेन्डा बोकेर गठबन्धन बनाई चुनावमा गएको साविक नेकपाले झण्डै दुईतिहाई बहुमत प्राप्त गरेको थियो । तर, शीर्ष नेतृत्वका बीचमा देखिएको मनमुटाव र सत्ताकेन्द्रित राजनीतिले पार्टी टुक्रामात्रै परेन अब गठबन्धन सरकार बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीलाई गुहार्नुपर्ने स्थिति पैदा भएको छ ।