Notification

×

Iklan

Iklan

काँग्रेसले राम्रो अवसर गुमायोः वरिष्ठ नेता पौडेल

Sunday, March 14, 2021 | March 14, 2021 WIB Last Updated 2021-12-30T03:23:29Z

बेनी

चैत १




नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्वको ढुलमुले शैलीका कारण नेपाली काँग्रेसले महत्पूर्ण अवसर गुमाएको विचार व्यक्त गरेका छन् । काँगेस म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको श्रद्धाञ्जली सभामा बोल्दै नेता पौडेलले यस्तो धारणा राखेका हुन् ।


प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको प्रसङ्ग कोट्याउँदै वरिष्ठ नेता पौडेलले सत्तारुढ दल र सरकारको कमजोरीमाथि प्रहार गर्न नेपाली काँग्रेस चुकेको तर्क गरेका थिए । “प्रधानमन्त्रीको असंवैधानिक क्रियाकलापको विरोध भैरहेका बेला १ नम्बर प्रदेश र वागमती प्रदेश सरकारविरुद्ध दर्ता भएका अविश्वास प्रस्ताव पास गराउन हामी चुक्यौैं,” नेता पौडेलले भने, “अझै पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अवसर काँग्रेससामु छ, तर त्यो पनि गुम्ने हो कि भन्ने डर देखिँदैछ ।”




“म आज बेनी आएको छु, यहाँदेखि पार्टी केन्द्र हुँदै सभापतिजीको निवास बुढानीलकण्ठसम्म पनि मेरो भनाइ यही हो कि पार्टीले पाएको अवसर गुमाउनु भएन ।” ऐनमौकामा काँग्रेस लकपकाउँदा जनस्तरमा प्रतिपक्षी दलको भूमिका र नियममाथि नै प्रश्न उठ्न थालेको बताउँदै नेता पौडेलले भने, “कि हाम्रो केपी ओलीसँग लेनदेन छ भन्न सक्नुपर्छ हैन भने ओलीसँग कसरी मिल्न सकिन्छ ?”



नेतृत्वको क्रियाकलापप्रति कार्यकर्ताहरु पनि सजग हुनुपर्ने आवश्यकता औंल्याउँदै नेता पौडेलले भने, “नेताले कार्यकर्ताको मात्रै होइन, कार्यकर्ताले पनि नेताको मूल्याङ्कन गर्ने हैसियत बनाउनुपर्छ, लोकतन्त्रमा यो आवश्यक छ ।” लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै भएको बताउँदै नेता पौडेलले पार्टीभित्र लोकतान्त्रिक आचरण हुर्काउने कि अधिनायकवादी संस्कारलाई निरन्तरता दिने भन्ने कुरा काँग्रेसजनका लागि पेचिलो सवाल भएको अवगत गराएका थिए ।




नेपालका कम्युनिष्ट पार्टीहरुले कामभन्दा कुरा धेरै गरेको आरोप लगाउँदै नेता पौडेलले सैद्धान्तिक सवालमार्फत् कम्युनिष्टहरुलाई जनतामाझ नङ्ग्याउनुपर्ने विचार व्यक्त गरेका छन् ।


नेपाली काँग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्रबहादुर खड्काको निधन भएको छैटौैं दिन आज सदरमुकाम बेनीमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।


जिल्ला समन्वय समिति म्याग्दीको सभाहलमा आयोजित सभामा नेपाली काँग्रेस म्याग्दीका नेता–कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।


काँग्रेस म्याग्दीका पूर्व सभापति खड्काको तस्वीरमा माल्यार्पण गरी शुरु भएको श्रद्धाञ्जली सभाका वक्ताहरुले डा खड्काले म्याग्दीको राजनीति, शिक्षा, स्वास्थ्य, कानुनी आदि क्षेत्रमा गरेका योगदानको चर्चा गरेका थिए ।




×
Berita Terbaru Update