Notification

×

Iklan

Iklan

मार्क्सवाद र बदलिएको दलाल पुँजीवाद

Friday, March 19, 2021 | March 19, 2021 WIB Last Updated 2021-12-30T03:23:28Z

बेनी

चैत ६





भोलानाथ घिमिरे


सन् १८१८ मा जर्मनीमा जन्मिएका कार्ल मार्क्स समाजवादी विचारधाराका जन्मदाता हुन् । बहुप्रतिभाशाली व्यक्तित्वका रुपमा स्थापित मार्क्सका दार्शनिक, शास्त्रीय अर्थशास्त्रीका पनि अर्थशास्त्री, इतिहासकार, पत्रकार, वकिल, वैज्ञानिक समाजवादी आदि अनेक परिचय छन् । 


उनका मित्र फ्रेडरिक एङ्गेल्स आफ्नो जीवन कालभरि इतिहास, समाजशास्त्र विज्ञान, अर्थशास्त्र तथा राजनीति विज्ञानका समस्याहरुलाई सम्पूर्णरुपमा मार्क्सवादलाई स्थापित गराउन लागि परे । वर्गसघर्ष, द्वन्द्वात्मक भौतिकवाद, इतिहासको आर्थिक व्याख्या, श्रमिकको अतिरिक्त मूल्य, सर्वहारा वर्गको अधिनायकत्व तथा राज्य विहीनताजस्ता सिद्धान्तलाई मार्क्सवादले आफुभित्र समेटेको छ । 


कार्ल मार्क्स पहिलो समाजवादी विचारक हुन । उनको वैज्ञानिक समाजवाद भनेकै साम्यवादको रुप हो । उनका अनुसार समाज द्वैतवादबाट अद्वैतवादमा परिणत हुन्छ । मार्क्सवाद एउटा क्रान्तिकारी विचारधारा हो । जसले आर्थिक तथा सामाजिक समानतामा विश्वास गर्दछ । खुला अर्थतन्त्र तथा पुँंजीवादी स्वतन्त्रतालाई आमूल पविर्तन गर्न र सर्वहारा वर्गको समाजवादी व्यवस्था स्थापना गर्नका लागि हिंसात्मक क्रान्तिको आवश्यकता पर्दछ । यो क्रान्तिपछि मात्र दलाल पुँजीवादको अन्त्य भई आदर्श व्यवस्था प्राप्त हुन्छ । जसका कारण वर्गरहित, संघर्षविहीन तथा शोषणरहित राज्यको स्थापना हुन्छ । समाज द्वैतवादबाट अद्वैतवादमा परिणत हुन्छ भन्ने माक्र्सको आशय हो । यसमा रहेका विशेषताहरुमा पुँजीवाद विरुद्धको प्रतिक्रिया, श्रमिकको अतिरिक्त मूल्यले नै पुँजीवादको जन्म, स्वतन्त्र पुँजीवादी व्यवस्थाको अन्त्यका लागि हिंसात्मक अांैजार प्रयोग गर्नु, प्रजातान्त्रिक संस्था नै पुँजीवादी व्यवस्थाको उपज जस्ता मानसपटलमा उत्तेजना ल्याउने खाले छन् भन्दा फरक पर्दैन । पुँजीवादी राज्यमा शासक र शासित वर्गबीच वर्गसंघर्ष अनिवार्य छ । माक्र्सवाद धर्मविरोधी छ यसले धर्मलाई अफिमको नशासँग तुलना गरेको छ । यसले अन्तराष्ट्रिय साम्यवादमा विश्वास गर्दछ ।


सिद्घान्तको चुरो

कार्ल मार्क्सको द्वन्द्वात्मक भौतिकवादको सिद्घान्त जर्मनी दार्शनिक हिगेलबाट प्रेरित छ । हिगेललाई मार्क्स गुरु मान्थे । हिगेलका अनुसार सम्पूर्ण संसार गतिशील छ । उनले विचारलाई केन्द्रमा राखेका छन् । विचारबाट नयाँ वाद र प्रतिवाद आउछ । वादे वादे जायते तत्वबोध भने झैं वाद र प्रतिवादबाट सत्यको नजिक पुगिन्छ । यसरी विचार निरन्तर परिवर्तन भैरहन्छ । इतिहास घटनाहरुको क्रममात्र नभई विकासको तीन अवस्थाहरुको विवेचना हो । जुन वाद–प्रतिवाद–संवाद नै हुन् । द्वन्द्व विचारमा आधारित हुन्छ । कुनै पनि वाद मूलरुपमा विचारमा परिणत हुन्छ । जसको केही समयपछि विरोध हुन्छ । यो नै प्रतिवादको अवस्था हो । यसै संघर्षको परिणाम स्वरुप मौलिक विचारवाद परिवर्तन भएर प्रतिवाद बन्न पुग्दछ । यही प्रतिवादको विरोध भएपछि नयाँ विचारको उत्पत्ति हुन्छ । जुन शृङ्खला नै संवाद हो । यही  विचारको संवादबाट सत्यको नजिक पुगिन्छ । 


तर हिगेलको माथिको विचारलाई कार्ल मार्क्स भन्छन्ः विचार प्रमुख तत्व हुन सक्दैन । भौतिक तत्व नै प्रमुख हो । व्यक्ति परिस्थितिको दास हुन्छ । व्यक्तिमा भौतिक परिस्थितिले विचार आउँछ । जस्तै भौतिक तत्वको कारणले, गरिब हुँदा साधनको कमीले र धनी हुँदा साधनको पर्याप्तताले आउने विचारमा परिवर्तन आउँछ । विश्व आत्मा द्वन्द्वात्मक भौतिकवाद नभई भौतिक तत्व नै संसारको आधार पदार्थ हो । पूँजीवाद विचार हो । अन्तरविरोध र परिवर्तन सर्वव्यापी तथा स्थायी हुन्छन् । जहाँ पुँजीपति र श्रमिक दुई वर्ग हुन्छन् । यिनीहरुमा एउटा हुने खाने र अर्काे हुँदा खाने वर्ग हुन् । जसले उत्पादन गर्दछ ऊ शोषित हुन्छ तर उत्पादनमा नियन्त्रण शोषकले गर्दछ । यी दुई वर्गको बीचमा सघर्ष हुन्छ । मार्क्सका विचारमा यो आवश्यक पनि छ । अन्ततः श्रमिक वा तल्लो वर्गको विजय हुन्छ । यसपछि मात्र सर्वहारा वर्गको अधिनायकवाद स्थापित हुन्छ । यो नै प्रतिवादको अवस्था हो । यी दुई अवस्थाबाट तेस्रो अवस्था उत्पन्न हुन्छ । यसलाई वैज्ञानिक समाज भनिन्छ । जसको कारण वर्ग–विहीन, सघर्ष–विहीन, शोषण–रहित समाज प्राप्त हुन्छ । त्यो नै संवाद हो । 


सिद्घार्थ गौतमले यही भने । माक्र्सले यही नियमलाई बुझे, व्याख्या गरे र परिवर्तनलाई मानवहितमा अगाडि बढाउने प्रयत्न गरे । 


इतिहासको आर्थिक भौतिकवादी व्याख्या

माक्र्सको विचारमा द्वन्द्वात्मक भौतिकवादको जस्तै इतिहासको आर्थिक व्याख्याको सिद्घान्त महत्वपूर्ण छ । माक्र्सका अनुसार इतिहासको आर्थिक व्याख्या सबै आर्थिक गतिविधिमा हुने परिवर्तनसँग सम्बन्धित छ । प्रत्येक देश अनि समयमा सबै राजनीतिक, सामाजिक संस्था, कला, रीतिरिवाज, समस्त जीवन तथा भौतिक अवस्थाहरु आर्थिक तत्वबाट नै प्रभावित हुन्छन् । यिनीहरु एक मात्र अर्थतत्व विश्लेषणमा आधारित छन् । अर्थात् आर्थिक व्यवस्थामा हुने परिवर्तनले मात्र परिणाम दिन्छ । माक्र्सले मानिसको इतिहासका ६ वटा अवस्थालाई प्रमुख मान्दछन् । यिनै ६ ओटा अवस्थाबाट गुज्रिएपछि समाज वर्गविहीन अवस्थामा पुग्छ भन्ने उनको मान्यता हो । यिनलाई छोटकरीमा चर्चा गर्नु मनासिब नै होला ।


क. आदिम साम्यवादी अवस्था

पहिलेका मानिसको जीविका चलाउने तरिका सजिलो थियो । शिकार खेल्ने, माछा मार्ने, जङ्गलका फलफुल बटुल्नु नै त्यसबेलाको मुख्य काम हुन्थ्यो । त्यति बेला जंगली पशुपंक्षी मारेर खान पुगे जीविका चल्दथ्यो र मानिस आनन्दित हुन्थे । यस अवस्थामा उत्पादनका साधन सबैमा भर पर्दथ्यो । कसैको नीजि सम्पत्ति थिएन । कोही पनि शोषित हँुदैनथे । समाज समानतामा आधारित थियो । माक्र्सका अनुसार यो नै आदिम साम्यवादी अवस्था हो ।


ख. दासत्वको अवस्था

विस्तारै मानिसका काम गर्ने तौर तरिकामा परिवर्तन आयो । उनीहरुले खेतीपाती, पशुपालन, व्यवसाय गर्न थाले । जसको कारणले नीजि सम्पत्तिको विचार आयो । त्यसपछि नेतृत्व वर्गले उत्पादनका साधनमा कब्जा जमाउन थाले । जजसले कब्जा जमाए ती भूमिपती हुँदै मालिक बने । साधनको पकड नभएका सोझा साझा श्रमिक दास हुन पुगे । त्यसपछि तिनीहरुलाई बल प्रयोग गरी आफ्नो नीजि सम्पत्ति बढाउनमा प्रयोग गरियो । यसले गर्दा शोषक (स्वामी) र शोषित (दास) को जन्म भयो । 


ग. सामन्तवादी अवस्था

यस अवस्थामा उद्योगपतिहरु उद्योग सञ्चालनतिर लाग्दछन् । साधनहरुको विकासपछि फलामका औजारहरु जस्ता ठूला कारखाना खुल्छन् । श्रमिकलाई ज्याला कटौती गर्दै मुनाफामा जोड दिई उद्योगपतिहरुको बोलवाला शुरु हुन्छ । त्यस्तै गरेर कृषि क्षेत्रमा पनि शोषक जमिन्दार तथा शोषित भूमिहीन कृषक बन्छन् ।


घ. पुँजीवादी अवस्था

यस अवस्थामा औधौगिक क्रान्ति अर्थात् अधिक उत्पादन हुन्छ । साधनविहीन श्रमिकहरु केवल श्रम बेच्न बाध्य हुन्छन् । पुँजीपतिको जीवनशैली विलाशी र श्रमिकहरुको गरिबीबीच असमानता हुन गई वर्गसंघर्ष शुरु हुन्छ ।


ङ. श्रमिक वर्गको अधिनायकवाद 

पुँजीपति र श्रमिकबीच उत्पादनका साधनहरुको असमान वितरण हुन जान्छ । श्रमिकहरुसँग गुमाउने केही हुँदैन । यसले गर्दा सम्पूर्ण श्रमिकहरु अधिकार प्राप्तिका लागि सङ्गठित भएर विद्रोह गर्दछन् । अन्ततः श्रमिकहरुको अधिकार स्थापित हुन्छ । यसैलाई सर्वहारावर्गको अधिनायकत्व स्थापनाको चरण भनिएको हो ।


च. राज्यविहीन र वर्गविहीन समाज

मार्क्सका विचारमा समाज विकासको अन्तिम चरणमा समाजमा केवल एउटै वर्ग हुनेछ । वर्गविहीन व्यवस्था हुन्छ । जहाँ श्रमिकको बोलवाला हुने गर्दछ । श्रमिकहरु योग्यताको आधारमा काम गर्दछन् । नवीन खोजको सृजना हुन्छ । राज्य नभए पछि धर्म रहितको साम्यवाद आउछ ।


सर्वहारा वर्गको अधिनायकत्व

मार्क्सले प्रस्तुत गरेको दृष्टिकोणले श्रमिक वा शासित वर्गको उत्थान गरेको छ । समाजमा रहेका आर्थिक रुपले विपन्न, दलित तथा पछाडि परेका वर्गको अस्तित्व कायम गरेका छन् । विकासका संवाहक श्रमिकलाई काम गराएर कम ज्याला मात्र दिने र अन्य सेवा सुविधा केही नदिने सामन्तवादी सोचलाई अन्त्य गर्ने मार्ग प्रशस्त गर्ने समाजवादी विचार प्रस्तुत गर्ने पहिलो व्यक्ति माक्र्स नै हुन् । उनका अनुसार श्रमिकलाई उचित ज्याला तथा अन्य सेवासुबिधा दिएमा धेरै मुद्रा तथा नवीन आविष्कार हुन्छ । जुन सराहनीय छ ।


मार्क्सले त्यति बेला मानव समाजको इतिहास वर्ग संघर्षबाटै रच्न सकिने निक्र्यौल गरे । मार्क्स र एङ्गेल्सले माथिका ६ ओटा अवस्थालाई पहिलोपटक ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादको आलोकमा मानव समाजका आदिम साम्यवाददेखि आधुनिक साम्यवादसम्म पुग्ने मार्गको रुपमा सविस्तार व्याख्या गरे । यो पनि सत्य छ कि सम्पूर्ण संसार द्वन्द्वात्मक चरित्रको छ । संसारमा विभिन्न किसिमका द्वन्द्व भैरहेका छन् । समाजमा सबै चिजहरुमा द्वन्द्व भैरहन्छ । जस्तै राजनीतिक पार्टी, परिवार, संघ–संस्था, धार्मिक सङ्गठन आदिमा पनि द्वन्द्व भैरहेको हुन्छ । यद्यपि यो द्वन्द्वात्मक भौतिकवादको सिद्घान्तमाथि विश्वास गर्ने प्रकृति वा प्रवृत्ति हरेक विषयको द्वन्द्व हो त ? अहिले मोफसलमा देखिएको द्वन्द्व लोकतन्त्र, पार्टीतन्त्र, गुटतन्त्र, उपगुटतन्त्र, व्यक्तितन्त्रमा केन्द्रित भएको छ । यस्ता तन्त्रमा न विचार छ न प्रधान शत्रु र मित्र नै ।


फाइल तस्वीर


इतिहासको आर्थिक व्याख्याका कमजोरी

कार्ल माक्र्सले आर्थिक तत्वमा आवश्यकता भन्दा बढी जोड दिनु उचित मानिँदैन । इतिहासको समय निर्धारणका यी ६ अवस्था आलोचित मानिन्छन् । धर्मलाई स्थान नदिनु कमजोरी हो । किनकि समाजलाई सङ्गठित बनाउने आधार धर्म पनि हो । 


अनि श्रमिकको अतिरिक्त मूल्यको सिद्घान्तको पनि आलोचना हुँदै आएको छ । माक्र्सका अनुसार श्रमिकलाई उचित पारिश्रमिक नदिएर पुँजीपतिले अतिरिक्त नाफा खान्छन । तर, वास्तविक मूल्य नै नाफाको आधार भएको पाइन्छ । वास्तविक जगत्मा श्रममात्र उत्पादनको साधन हुन सक्दैन । श्रमिकको शारीरिक मूल्य मात्र हुँदैन । मानसिक मूल्यको बारेमा माक्र्स मौन छन् । त्यस्तै वर्ग सघर्षको सिद्घान्तको सवालमा पनि माक्र्सको आलोचना भएको पाइन्छ । माक्र्सले खास समयसम्म वगंसंघर्ष जारी रहने, श्रमिक मजदुरको संगठित आन्दोलनबाट सर्वहारावर्गको अधिनायकत्व स्थापना हुने विचार व्यक्त गरेका छन् । तर, यसको पनि आलोचना भएको पाइन्छ । खासमा वर्गसंघर्ष भन्ने कुरा सधैं जारी रहने कुरा हो । यो नटुङ्गिने विषय हो । ठूलो सानोबीच झगडा भैरहन्छ । वर्णमा त समानता कठिन छ, वर्ग समानता परको विषय हो । सघर्ष मात्रै समस्याको समाधान होइन । एक आपसमा सहयोगको ठूलो भूमिका हुन्छ । पुँजीवादमा मात्र पुँजीपतिको वर्चश्व रहन्छ भन्ने रहेनछ । बजारमा साना व्यापारी सकिन्छन तर त्यस्तो अवस्था व्यवहारमा पाइएन । माक्र्सले समाजमा केवल दुई वर्गको व्याख्या गरेका छन् । तर यथार्थमा यी दुईवर्गको बीचमा विशाल मध्यम वर्ग स्थापित भएको नेपालकै अनुभवले देखाएको छ । 


मार्क्सको दर्शनको आधार द्वन्द्वात्मक भौतिकवाद हो तर यो बुझ्न सरल छैन । यसको विस्तृत व्याख्या भने भेटिँदैन । मार्क्सले हिगेलको आत्मात्मकवादको ठाउँमा भौतिकवादलाई प्रतिस्थापन गरेका छन् । माक्र्सका अनुसार समाजको प्रगतिको लागि हिंसात्मक क्रान्तिको आवश्यकता छ । के पुँजीवादी व्यवस्थाको विकल्प छ त ? यसको उन्मूलनको मार्ग हिंसात्मक औजार नै हो त अहिलेको सुसूचित समाजमा ? तर विकास क्रान्तिमा भन्दा शान्तिको समयमा सम्भव हुन्छ । कल्याणकारी राज्य पनि हुन्छ । राज्य सदा शोषणको उपकरण हँुदैन । हुन त पुँजीवादले विषम परिस्थितिमा पनि नाफालाई केन्द्रमा राख्दछ । जसले श्रमिकहरुको शोषण गरी राज्य सञ्चालन गर्दछ । तर पुँजीवाद केवल शोषणको आधार नभई श्रमिकको हितमा पनि कानुन बनाइएका छन् । राज्यविहीन समाज काल्पनिक विचार हो । केन्द्रमा कोही न कोही चाहिन्छ नत्र मिओबिनाको दांइँजस्तै हुन्छ । सर्वहारा तानाशाही हँुदा मानव अधिकार हनन हुन्छ । समाजमा समयको परिवर्तनसँगै आवश्यकता पनि थपिँदै जान्छन् । प्रकृतिप्रदत्त कच्चा पदार्थको प्रयोग गरी उपभोग योग्य अन्तिम वस्तु सृजना गरिन्छ । खाना–बास–कपडा मानिसको आधारभूत भौतिक आवश्यकताका वस्तु हुन् । श्रमिकहरुको ज्यालाको सम्मान गर्ने देशहरु विकसित भएका पनि थुप्रै उदाहरण छन् । यसका अतिरिक्त शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता सेवाको ग्यारेन्टी माक्र्सलाई आलोचना गर्ने कल्याणकारी राज्य नोर्डिक देशहरुले गरेका छन् । 


मार्क्सका अनुयायीहरुकै संख्या धेरै भएको नेपालमा पनि संविधानमै समाजवादको कुरा गरिएको छ । जुन देशमा राज्यले आधारभूत सुविधा ग्यारेन्टी गर्न सक्दैन त्यसल देशको संविधानमा ‘समाजवाद’ लेख्दैमा हौसिनुपर्ने कारण देखिँदैन । केन्द्रदेखि स्थानीय तहसम्मका व्यवस्था परिवर्तनका संवाहकहरु नै सामाजिक उपयोगिताका तथा शिक्षा–स्वास्थ्यका क्षेत्रलाई व्यापारको रोजाइ बनाउँछन् । हाम्रा जस्ता देशमा यिनको विचारले केवल आलोचनात्मक चेतका अतिरिक्त अरु दिन सकेको छैन भन्दा फरक पदैन । अहिले हिजोको जस्तो विश्वका श्रमिकहरुको अवस्था एउटै छैन । विकसित देशका जनताको जीवनशैली र श्रमको प्रतिफल पहिलेको जस्तो छैन । तर पहिलेको दास युगमा मालिक र नोकर, सामन्ती युगमा भूमिपति र कमैया जस्तै अहिले पुँजीवादी युगमा पुँजीपति र श्रमिक वर्ग उत्पन्न हुन्छन् । 


नेपालमा पुँजीको विकासको नाममा सम्पूर्ण साधनस्रोत तथा नाफाको आधिपत्य दलाल पूँजीवादीको हातमा केन्द्रित भएको छ । साधनको वितरणमा असमानताका कारण स्वरुप बजारमा दलाल पुँजीवादको एकाधिकार छ । अहिले समाजवादको नाममा सर्वहाराको नेतृत्व गर्ने नेताहरुले नै विपन्नतामा सम्पन्नता खोजे माक्र्सको आर्थिक तथा सामाजिक र वितरणमा समानता खै कहाँ गयो ? महाभारतमा दूर्योधनले घाइते अवस्थामा मर्न लागेका भीष्मलाई कोमल औछ्यानको प्रस्ताव नकारेर अर्जुनको शरशैया रोज्नु वीरताको गाथा होइन ? अहिलेका मार्क्सवादीहरुले मञ्चकै सहाराबाट फलाक्ने विचाररहित आरोप–प्रत्यारोपको दन्तबझानमा कहाँनिर वैचारिक धरातल देखिन्छ ? अलिकति राजनीतिक चेत भएको सबैलाई यो थाहा छ । 


पार्टीको नाममा मार्क्स र झण्डामा हँसिया हथौडा झुण्डाएर के अर्थ हुन्छ ? नेपालमा वर्गको रुपमा परिवर्तन भई सारमा राजनीतिक बिचौलिया (फौबञ्जर) को पकडमा राज्य परेको घटनाक्रमले देखाइरहेका छन् । अहिले पनि झस्काउने स्टालिनले सन् १९२७ मा चिनियाँ कम्युनिष्ट पार्टीलाई पत्रमा प्रयोग गरेको कम्प्राडोर र प्रदीप नेपालले प्रयोग गरेको फौबञ्जर शब्दले जनाउने क्रमशः विदेशी कम्पनीका लागि काम गर्ने एजेन्ट र व्यापारिक दलाल पूँजीपति तथा नेपोटिज्म (योग्यता भन्दा नातापातालाई अँगाल्ने प्रणाली) अनि सङ्गठित भ्रष्टाचारले नेपाली जनतालाई सम्पन्नता भित्रको विपन्नतामै सीमित बनाउने चरित्र र चित्रले देखाउँदैछन् ।


(उपप्राध्यापक, म्याग्दी बहुमुखी क्याम्पस, बेनी)




×
Berita Terbaru Update