Notification

×

Iklan

Iklan

म्याग्दीमा राष्ट्रिय जनगणनाको तयारी शुरु

Friday, March 19, 2021 | March 19, 2021 WIB Last Updated 2021-12-30T03:23:27Z

 बेनी

चैत ६




२०७८ जेठ २६ गतेदेखि असार १४ गतेसम्म सञ्चालन हुने ११औं राष्ट्रिय जनगणनाको लागि म्याग्दीमा तयारी शुरु भएको छ । बिहीबार कार्यालयमा आयोजित पत्रकार भेटघाटमार्फत् उक्त जानकारी गराइएको हो । 


जिल्ला जनगणना कार्यालय म्याग्दीका प्रमुख घनश्याम सापकोटाले जनगणनामा आवश्यक पर्ने कर्मचारी छनोटको प्रक्रिया शुरु भैसकेको जानकारी गराउँदै तथ्याङ्गलाई भरपर्दो र विश्वसनीय बनाउन हरसम्भव प्रयास भैरहेको बताएका छन् । “जनगणनालाई भरपर्दो र विश्वसनीय बनाउन हामीले वडास्तरसम्म सहकार्य गर्छौं,” सापकोटाले भने, “सूचना प्रविधिको उपयोग गरेर र प्रत्येक घरदैलोमा पुगी तथ्याङ्क सङ्कलन गर्ने योजना छ ।”


जम्मा ४५ ओटा वडा रहेको म्याग्दीमा जनगणना कार्य सम्पन्न गर्न सुपरीवेक्षक पदमा ४२ जना र गणकका लागि १४२ जना कर्मचारी माग भएको कार्यालयले जानकारी गराएको छ । कार्यालयका अनुसार सुपरीवेक्षक र गणकका लागि क्रमशः स्नातक र १२ कक्षा उत्तीर्ण भएको हुनुपर्नेछ । 




कार्यालयका अनुसार जनगणना कार्यलाई सहज बनाउन बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र रघुगङ्गा गाउँपालिकाको लागि शिक्षा विकास तथा समन्वय इकाई कार्यालयमा रहेको कार्यालय तथा मंगला, मालिका र धवलागिरी गाउँपालिकाका लागि मालिकाको दरबाङमा स्थापना गरिने कार्यालयबाट थप सहयोग हुनेछ ।


११औं राष्ट्रिय जनगणनालाई सफल बनाउन जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षको नेतृत्वमा चार तहको संयन्त्र निर्माण गरिने जानकारी गराउँदै सापकोटाले भने, “जेठ २५ गतेदखि असार ८ गतेसम्म घरदैलोमा आउने सुपरीवेक्षक र गणकलाई यथार्थ विवरण टिपाउन म्याग्दी जिल्लाबासीलाई अनुरोध गर्दछु ।” 


यही चैत १ गते साविक जिल्ला शिक्षा कार्यालय, म्याग्दीको भवनमा रहने गरी जिल्ला जनगणना कार्यालय स्थापना गरी काम शुरु गरिएको छ ।



×
Berita Terbaru Update