बेनी
चैत ६
सदरमुकाम बेनीस्थित प्रकाश माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरेको छ । शुक्रबार विद्यालयमा एक समारोहको आयोजना गरी नयाँ विद्यार्थीलाई स्वागत गरिएको हो ।
कक्षा १२ का विद्यार्थीहरुले आयोजना गरेको स्वागत समारोहमा बोल्दै विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हरिकृष्ण श्रेष्ठले कोरोना महामारीका कारण पठनपाठनका साथै विद्यालयका गतिविधि ठप्प भएकोमा विस्तारै सहज हुँदै गएको विचार व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक हरिकृष्ण सुवेदी र सहायक प्रधानाध्यापक लेखबहादुर हमालले अघिल्ला वर्षहरुमा साउन भदौमै सम्पन्न हुने स्वागत कार्यक्रम यसपटक कोरोना महामारीका कारण ढिला भएको जनाउँदै नयाँ विद्यार्थीहरुको शैक्षिक सफलताको कामना गरेका थिए ।
सरस्वतीको प्रतिमामा माल्यार्पण गरी शुरु भएको कार्यक्रममा स्वागत गर्दै कक्षा ११ १२ तर्फका संयोजक कविराम थापाले कोरोना महामारी, पाठ्यक्रमको अन्योल र अन्य अवरोधका बाबजूद विद्यार्थी स्वागतको परम्परालाई निरन्तरता दिइएको जानकारी गराएका थिए ।
बीचबीचमा सांस्कृतिक नृत्य र मनोरञ्जनात्मक प्रस्तुति रहेको कार्यक्रममा कक्षा १२ का निशान कँडेल र कक्षा ११ का विद्यार्थीहरु सुशील खत्री, सिर्जना केसी र ज्ञानेन्द्र मल्लले आआफ्ना मन्तव्य राखेका थिए ।
यूवा रेडक्रस सर्कल, प्रकाश माविका सचिव राम परियारको अध्यक्षता र व्यवस्थापन १२ का छात्र सुशान्त सुनारको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा ११ कक्षामा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अविर, खादा, कलम र डायरीका साथै पुष्पगुच्छासहित स्वागत गरिएको थियो ।
कक्षा ११ र १२ मा विज्ञान विषयको पढाइ हुने प्रकाश मावि म्याग्दीको एउटै मात्र संस्था हो । विज्ञान, व्यवस्थापन, शिक्षाशास्त्र र मानवीकि विषयसमूहको पढाइ हुँदै आएको उक्त विद्यालयमा अहिले कक्षा ११ र १२ मा मात्रै झण्डै पाँच सय विद्यार्थी अध्ययनरत छन् ।