बेनी
चैत ७
नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको सम्झनामा म्याग्दी बुहुमुखी क्याम्पसमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । म्याग्दी क्याम्पसका संस्थापक सदस्य, पूर्व सञ्चालक समिति अध्यक्ष एवं सल्लाहकार खड्काको स्मृतिमा शनिबार सभा आयोजना गरिएको हो ।
श्रद्धाञ्जली सभामा बोल्दै क्याम्पस सञ्चालक समितिका पदाधिकारीहरुले स्वर्गीय खड्काले म्याग्दीको शैक्षिक, राजनीतिक र सामाजिक क्षेत्रमा गरेका योगदानको चर्चा गरे ।
सभामा बोल्दै प्राध्यापक संघका सभापति नारायणप्रसाद सुवेदीले खड्काको निधनले म्याग्दीले एक जना निष्ठावान् राजनीतिज्ञ र शिक्षासेवीलाई गुमाएको धारणा राखे ।
सभामा बोल्दै सञ्चालक समिति सदस्य माधवप्रसाद रेग्मीले स्वर्गीय खड्काको पृष्ठभूमिबारे प्रकाश पारेका थिए ।
म्याग्दीको राजनीति, स्वास्थ्य, शिक्षा, र कानुनी क्षेत्रमा स्वर्गीय खड्काको योगदान अविस्मरणीय रहेको चर्चा गर्दै रेग्मीले उनलाई शैक्षिक र राजनीतिक क्षेत्रको गुरुका रुपमा सम्झिएका थिए ।
सभामा बोल्दै सञ्चालक समितिका कोषाध्यक्ष दिपेन्द्र श्रेष्ठ, उपाध्यक्ष सोमनाथ ढुङ्गानाले खड्काले सधैं निष्ठाको राजनीति गरेको स्मरण गरेका थिए ।
सभालाई सम्बोधन गर्दै समितिका अध्यक्ष बालकृष्ण सुवेदीले भूपेन्द्रबहादुर खड्कालगायतका शिक्षासेवीहरूका कारण म्याग्दी क्याम्पस आजको अवस्थामा पुगेको स्मरण गरे ।
म्याग्दीको राजनीतिक, शैक्षिक र सामाजिक क्षेत्रको विकासमा खड्काको योगदानको चर्चा गर्दै अध्यक्ष सुवेदीले भने, “डा. भूपेन्द्रबहादुर खड्का जुन समयमा राजनीतिमा आउनुभयो । त्यो समय सहज थिएन । तर, जस्तोसुकै कठिन परिस्थितिमा पनि खड्काले समाजप्रतिको आफ्नो दायित्व बिर्सनु भएन । यो नै म्याग्दीका लागि उहाँले लगाएको सबैभन्दा ठूलो गुन हो ।”
क्याम्पस प्रमुख गोरखबहादुर जिसीले सञ्चालन गरेको सभामा उपस्थित प्राध्यापक, कर्मचारी र पदाधिकारीहरुले स्वर्गीय खड्काको तस्वीरमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरेका थिए ।
वि.सं. १९९८ मा बागलुङमा जन्मिई म्याग्दीलाई कर्मथलो बनाएका डा. भूपेन्द्रबहादुर खड्काको गत फागुन २५ गते ८० वर्षको उमेरमा काठमाडौंस्थित सैनिक अस्पतालमा निधन भएको थियो ।



