बेनी
चैत ८
विनय श्रेष्ठ
पर्वत बेनीको मल्लाज चोकदेखि उकालो लाग्दै थिएँ । एकजना काकाले बोलाउँदै भने, “तँ काँग्रेस बुढाको छोरो होइनस् ?” घटना ५८ साल तिरको हो ।
![]() |
स्व. भूपेन्द्रबहादुर खड्का |
२०७७ चैत्र २६ गते एक जना दाइ भेटिए, करिव ५५ वर्ष उमेरका । “बाबू बजारकै हो ?” भन्दै उनले कुराकानी शुरु गरे ।
“हो ।” मैले थपें, “मलाई त चिन्नुहुन्न, बुबालाई चिन्नुहुथ्यो होला । वहाँको नाम लक्ष्मीप्रसाद श्रेष्ठ... । नाम पूरा भन्न नपाउदै “ए ! कांग्रेस सचिव” भनेर बिचैमा थपे ।
मैले माथिको प्रसङ्ग किन उठाएको हुँ भन्दा गएको फागुन २५ गते म्याग्दीले एक जना व्यक्तित्व गुमायो । अनि उनको चर्चा चल्यो ।
एकजना पाका पुराना शिक्षकले मसँग भन्दै हुनुहुन्थ्यो, “म्याग्दीमा पञ्चेविरोधी र काँग्रेस भनी चिनिएका तपाईंका बुबा लक्ष्मीप्रसाद, चन्द्रशेखर र डाक्टर भूपेन्द्र नै त हुन् । त्यसपछि ओमबहादुर बोगटी, डेकबहादुर बानियाँ, लालप्रसाद श्रेष्ठ बरु डाक्टरसापकै श्रीमती पनि पञ्चायतविरोधी हुन् ।”
हो, ४६ सालअघि कट्टर बहुदलवादी, पञ्चेविरोधी, अझै भनौं भने भीमप्रसादविरोधी यिनै डा. भूपेन्द्रबहादुर खड्कालाई अघिल्लो साता म्याग्दीले गुमायो । अपूरणीय क्षति भयो ।
खड्काको जन्मथलो बागलुङ थियो, तर, कर्मथलो बनाए म्याग्दी बेनीलाई । पेशाले डाक्टर थिए, हजारौंको ज्यान बचाए । वकिल थिए हजारौंलाई न्याय दिलाए । डाक्टर र वकिल पेशामै रमाएर लाखौं कमाउन सक्थे । तर उनले त्यसो गरेनन् । सधैं बहुदलको पक्षमा उभिए । पञ्चायत पक्षधरहरूले घेरा हाले, घर तोडफोड गरे, प्रहरी प्रशासनले लगेर थुन्यो, साथीभाइ आफ्नो थातथलो छाडेर हिँडे । तर, भूपेन्द्र दम्पति आफ्नो सिद्धान्तबाट कत्ति पनि विचलित भएनन् । बहुदलीय प्रजातन्त्रका पक्षमा सतिसाल भई उभिए । श्रीमती खड्काले गैंचीले बरु आक्रमणकारीको टाउको फुटाइन् तर पछि हटिनन् ।
सत्यको सधैं जित हुन्छ भनेझैं ४६ सालमा बहुदलको घोषणा भयो । २०४८ सालको आमनिर्वाचनमा नेपाली काँग्रेस म्याग्दीले खड्कालाई जिल्लाको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनायो । तर, उनी झिनो मतले पराजित भए ।
राजनीति हो, हारजित स्वाभाविकै हो । तर, डा. खड्काले कहिल्यै हरेस खाएनन् । नेपाली काँग्रेस म्याग्दीको सभापति भई लोकतन्त्रका लागि अविचलित भई लागिरहे ।
आफ्नो जीवनकालमा डा. खड्काले राजनीति मात्रै गरेनन् । म्याग्दी बार इकाईको संस्थापक अध्यक्ष, म्याग्दी पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, म्याग्दी बहुमुखी क्याम्ससको अध्यक्ष हुँदै प्रकाश मावि लगायत दर्जनौ संघसंस्थामा संलग्न रही अगुवाई र नेतृत्व गरे ।
आफ्नो जीवनसङ्गिनी गुमाएपछि पनि जन्मथलोमा जाने वा काठमाडौ बसाइँसराइ सर्ने विकल्प हुँदाहुँदै खड्काले म्याग्दी नै रोजे । चाहे द्वन्द्वकालमा होस् या जनआन्दोलनमा होस् उनको सक्रियता कहिल्यै घटेन । उनले साम, दान, दण्ड, भेदवाला पुरानो नीति अपानाएको भए धेरै लाभको पद लिन सक्थे तर त्यसो गरेनन् । न त पार्टीले न त राज्यले उचित पद दिएर सम्मान ग¥यो ।
स्वर्गीय खड्काको भूमिका मूल्यांकन गरी यदि पार्टी वा राज्यले उचित अवसर दिएको भए राजनैतिक र सामाजिक क्षेत्रमा अग्रसर हजारौं यूवालाई उनको योगदान र उपलब्धि थप प्रेरणाको माध्यम बन्न सक्थ्यो ।
तर अब समय गैसक्यो, ढिला भयो ।
शायद म्याग्दीले गुण नतिरेको व्यक्तिमध्ये नै पर्छन् डा. भुपेन्द्र बहादुर खड्का पनि ।