Notification

×

Iklan

Iklan

म्याग्दीका पहिरोपीडितलाई नयाँ वर्षमा नयाँ घर

Monday, March 22, 2021 | March 22, 2021 WIB Last Updated 2021-12-30T03:23:26Z

बेनी

चैत ९




गत असार २५ र २६ गते गएको पहिरोका कारण घरबास गुमाएका म्याग्दीका पहिरोपीडितले नयाँ वर्ष २०७८ सँगै नयाँ घरमा बस्न पाउने भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) को पहलमा शुरु भएको घर निर्माण अभियान सम्पन्न हुन थालेसँगै पहिरोपीडितहरु आफ्नै घरमा सर्ने भएका हुन् ।


मोना म्याग्दीका उपाध्यक्ष सूर्य भट्टचनले संस्थाले निर्माण शुरु गरेका ४० मध्ये ३२ ओटा घर निर्माण सम्पन्न भएको र बाँकी ८ ओटा घरहरु वैशाख पहिलो सातासम्म सम्पन्न भैसक्ने जानकारी दिएका छन् । “प्रवासी म्याग्देलीको सहयोगमा शुरु भएको पहिरोपीडितको पुनर्बास अभियान पूरा हुन लागेको छ,” उपाध्यक्ष भट्टचनले भने, “आगामी वैशाख पहिलो सातासम्म घर हस्तान्तरण गर्ने गरी काम भैरहेको छ।”


भट्टचनका अनुसार मोनाको नेतृत्वमा मालिकाको बिममा १० ओटा, धवलागिरिको मराङमा १० ओटा, धारापानीमा ४ ओटा, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४/४ ओटा घर निर्माणको काम तिब्र गतिमा अघि बढिरहेको छ ।




म्याग्दीका ४० जना पहिरोपीडितलाई घर उपलब्ध गराउने योजना अनुसार मोनाले आफ्नै लगानीमा प्रति घर ५ लाख रुपैयाँको लागतमा शौचालय सहितको ३ कोठे बनाउन थालेको हो ।


यसरी घर बनाउँदा जग्गा भएकाहरुलाई उनीहरुकै जग्गामा र नभएकाहरुका लागि स्थानीय तहहरुले उपलब्ध गराएको जग्गामा आवास पुनर्निर्माणको काम गरिएको पुनर्बास समिति मोना म्याग्दीका सदस्य दलबहादुर सेरपुञ्जाले बताए ।


गत माघ २८ गतेबाट आवास पुनर्निर्माणको काम शुरु भएको जनाउँदै सेरपुञ्जाले हालसम्म ३२ घरको निमार्ण कार्य अन्तिम चरणमा पुगेको र बाँकी ८ घर चैत महिनाभित्र निमार्ण सम्पन्न गरी पीडित परिवारहरुलाइ हस्तान्तरण गर्ने योजना सुनाएका छन् ।


फाइल तस्वीरः पुनर्बासका लागि सम्याइएको जमिन, मराङ


रोजगारीका लागि विदेशमा पुगेका म्याग्देलीहरुले धेरथोर सहयोग गरी शुरु गरेको अभियानबाट हिमाली जिल्ला म्याग्दीका पहिरोपीडित ४० परिवारले यस वर्षको मनसुन अगावै घर उपहार पाउने भएका हुन्।

 

मोनाले जिल्लाको शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार लगायतको क्षेत्रमा सहयोग गर्दै आएको छ । जिल्लाको विकास निमार्णको कार्यदेखि पीडितको आँसु पुछ्ने अभियानमा मोनाले स्थापना कालदेखि सहयोगी भूमिका खेलिरहेको छ।


×
Berita Terbaru Update