बेनी
चैत १०
सदरमुकाम बेनीको मङ्गलाघाटबाट एक जना यूवा लागुऔषध सहित पक्राउ परेका छन् । रघुगङ्गा गाउँपालिका–६ कोटगाउँ घर भई हाल मङ्गलाघाटमा बस्दै आएका २१ वर्षीय साजन शेरपुञ्जा २९७ थान लागूऔषधसहित पक्राउ परेका हुन् ।
म्याग्दीका प्रहरी प्रमुख श्यामकुमार राईका अनुसार शेरपुञ्जाले लागूऔषध ओसारपोसार तथा प्रयोग गर्ने गरेको सुराकीको आधारमा उनको भाडाको कोठामा खानतलासी लिँदा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।
तलासीका क्रममा प्रहरीले शेरपुञ्जाको कोठाबाट ९९ एम्पुल डाइजापाम, ९९ एम्पुल फेनरगन र ९९ एम्पुल नुरफिन बरामद गरेको थियो । शेरपुञ्जाको साथबाट बरामद भएको यो लागूऔषधको परिमाण जिल्लामा भेटिएको अहिलेसम्मकै ठूलो रहेको म्याग्दी प्रहरीले जनाएको छ । प्रहरीले शेरपुञ्जाको कोठाबाट लागूऔषधसहित एक थान ल्यापटपसमेत बरामद गरेको छ ।
पक्राउ परेका शेरपुञ्जामाथि आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट ५ दनको म्याद थप भएको प्रहरी नायव उपरीक्षक राईले जानकारी दिएका छन् ।
लागू औषध ऐन–२०३३ को परिच्छेद ३ दफा १४ (झ) बमोजिम अभियोग प्रमाणित भएमा दुईदेखि १० वर्षसम्म कैद तथा एक लाखदेखि २० लाखसम्म सजायँको व्यवस्था हुन सक्नेछ ।