Notification

×

Iklan

Iklan

पानी नपर्दा वायु प्रदूषण बढ्यो

Wednesday, March 24, 2021 | March 24, 2021 WIB Last Updated 2021-12-30T03:23:25Z

 बेनी

चैत ११


साङ्केतिक तस्वीर


पछिल्लो केही दिनयता सदरमुकाम बेनी र आसपासको आकाशमा दिउँसोपख पानी पर्ला जस्तो गरी आकाश गर्जिने, केही जोडसँग हावा चल्ने र हलुका वर्षा हुने गरेको छ । यसले गर्दा गर्मी ह्वात्तै बढ्न पाएको छैन । तर, जमिन भिज्ने गरी पानी नपर्दा वायु प्रदूषण भने बढेको छ । 


म्याग्दी र कालीगण्डकी नदीकिनारमा बसेको बेनी बजार हलुका हावा चल्ने बित्तिकै धुलोले ढाकिने गरेको छ । पछिल्लो समय बजारलाई छलेर सवारी गुडाउने गरी तयार भएको म्याग्दीकाली किनारको कच्ची सडक, अलपत्र अवस्थामा रहेको खुल्ला मञ्चको खेलमैदान र बेनी गलेश्वर सडक किनारमा फ्याँकिने बजारको फोहोर र त्यसमा लगाइएको आगोका कारण सदरमुकाम बेनी, पर्वत बेनी, बगरफाँट र आसपासको क्षेत्रका बासिन्दा बेलाबेला निसासिने गरी धुलोमा रुमलिनु परेको छ ।


मालढुङ्ग–बेनी–जोमसोम सडकमा दैनिक गुड्ने हजारौं सवारीका कारण बेनी बजार धेरैजसो धुलोको चपेटामा पर्ने गरेको छ । त्यसमाथि लामो समयसम्म पानी नपर्दा वायु प्रदूषणसमेत बढेको छ । 



के भन्छ विभाग ?


वातावरण विभागका अनुसार जमिन भिज्ने गरी पानी नपर्दा राजधानी काठमाडौंसहित देशका विभिन्न ठाउँमा वायु प्रदूषण बढेको छ । जमिन भिज्ने गरी पानी नपरेको र आगलागीका घटना लगायत कारणले वायु प्रदूषण बढेको मौसमविद्ले बताएका छन् ।


विभागका अनुसार काठमाडौं, भक्तपुर, ललितपुरसहित हेटौँडा, विराटनर, सिमरा, जनकपुर, धनगढीलगायतका क्षेत्रमा वायु प्रदूषण बढेको छ । प्रि मनसुनको समय शुरु भइसक्दा समेत जमिन भिज्ने गरी पानी नरपेरकाले प्रदूषण बढ्दै गएको मौसमविद् शान्ति कँडेलले बताएकी छिन् । उनका अनुसार वायुमण्डलमा धुलोका कणहरु जम्मा भएका छन् । तत्काल वायुमा रहेको धुलोको कण सफा गर्ने गरी पानी पर्ने वा त्यसलाई बढार्ने गरी हावा चल्ने सम्भावना नदेखिएकाले प्रदूषण अझै बढ्न सक्नेछ ।


देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भए पनि पानी पार्ने प्रणाली नभित्रिँदा राम्ररी पानी पर्न सकेको छैन । 


विभागका अनुसार वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्यूआई)का आधारमा मापन गरिन्छ । एक्यूआई ५० सम्म हुनु राम्रो हो तर ५० देखि एक सय सम्मलाई मोडरेट मानिन्छ । एक्यूआई तीन सय पुग्नु जोखिमपूर्ण र तीन सयभन्दा माथि पुग्नुलाई घातक मानिन्छ ।



×
Berita Terbaru Update