Notification

×

Iklan

Iklan

‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’ तयारी राख्न जिल्ला प्रशासनलाई निर्देशन

Wednesday, March 24, 2021 | March 24, 2021 WIB Last Updated 2021-12-30T03:23:25Z

 बेनी

चैत ११





गृह मन्त्रालयले ‘क्वारेन्टाइन’ र ‘आइसोलेसन’ तयारी अवस्थामा राख्न ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि मन्त्रालयले दुई दिनअघि नै यस्तो निर्देशन दिएको हो । 


कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेकोबारे स्वास्थ्य मन्त्रालयको सूचना जारी भएपछि गृहले पनि आवश्यक तयारीका लागि यस्तो परिपत्र गरेको मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिएका छन् । सहसचिव बूढाका अनुसार नाकाबाट प्रवेश गर्नेको विवरण सङ्कलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ ।


बुढाले भने, “क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्नका साथै जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न पनि भनेका छौ । भीडभाड कम गर्न र नागरिकलाई सचेत गराउन निर्देशन दिइएको हो ।”


विद्यालय सञ्चालन भइरहेको समयमा क्वारेन्टाइन र आइसोलेसनको कुरा फेरि उठ्न थालेपछि विद्यार्थी, शिक्षक र अभिभावक पनि गत वर्षको जस्तो पठनपाठन र परीक्षा स्थगित हुने हो कि भन्ने चिन्तामा पर्न थालेका छन् । विद्यालय खुला वा बन्द गर्नेबारेको प्रश्नमा उनले भने, “विद्यालयको विषयमा हामीले केही भनेका छैनौं । विद्यालयबाहिरका क्वारेन्टाइन र आइसोलेसनका बारेमा भनेका हौं । शिक्षा मन्त्रालयसँग समन्वय गरेपछि मात्र विद्यालयबारे निर्णय गर्छौं ।”


यसैबीच मन्त्रालयको पत्र र जिल्लामा अपनाउन सकिने रणनीतिबारे आवश्यक छलफल गर्न जिल्ला प्रशासन कार्यालयमा डिसिसिएमसी, म्याग्दीको बैठक बसिरहेको छ । 


नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माले आफुलाई बैठकका लागि बोलाइएको र कोरोनाको सम्भावित संक्रमणबारे छलफल हुने जानकारी पाएको बताएका छन् ।


×
Berita Terbaru Update