बेनी
चैत १२
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा निर्माण सम्पन्न भएको धमाखु खेल मैदानको उद्घाटन गरिएको छ । पूर्वमन्त्री एवं संघीय सांसद थममायाँ थापाले उक्त खेलमैदानको उद्घाटन गरेकी हुन् ।
खेल मैदानको उद्घाटन गर्दै पूर्व महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले चिमखोलाको विकासका लागि आफुले पहलकदमी लिइरहेको विचार व्यक्त गरेकी छिन् । । सदरमुकाम बेनीबाट पहिलोपटक चिमखोलासम्म गाडी चढेर पुग्न पाएकोमा खुशी व्यक्त गर्दै सांसद थापाले राष्ट्रिय सभाको सदस्यका रुपमा आफुले नै गलेश्वर–पिप्ले–मौवाफाँट–दग्नाम–दर्मिजा–चिमखोला–घ्याँसीखर्क सडक निर्माण शुरु गरेको स्मरण गरेकी थिइन् ।
अहिले चिमखोलालाई नेपाल सरकारले नमुना गाउँमा छनोट गरेकोमा खुशी व्यक्त गर्दै सांसद थापाले चिमखोलालाई साँच्चैको नमुना गाउँ बनाउन अब शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईलगायतका कामका लागि बजेट बढ्ने विश्वास व्यक्त गरेकी थिइन् ।
मैदान निर्माण गर्नका लागि संघीय सांसद विकास कोषबाट ८ लाख, प्रदेश सांसद विकास कोषबाट ७ लाख, स्थानीयहरुको आर्थिक सहयोग र जनश्रमदान गरेका थिए।
शौचालय र घेराबारसहितको व्यवस्थित खेल मैदान उद्घाटन भएपछि धमाखुमा भूमेपूजा मेला शुरु भएको छ । मङ्गलबार चिमखोलाबासीले सामूहिक रुपमा मण्डली पूजा गरेसँगै स्थानीय मण्डली यूवा क्लबको आयोजनामा मेला शुरु भएको हो ।
मेलामा महिला भलिबल, पुरुष भलिबल, बास्केटबल लगायतका प्रतियोगितात्मक एवं सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिने मण्डली यूवा क्लबले जनाएको छ ।