बेनी
फागुन २०
नेपालको अर्थतन्त्रको आकार करिव ४० खर्ब पुगेको छ । बिहीबार एक विवरण सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगले यस्तो जानकारी गराएको हो । आयोगका निर्देशक हेमराज रेग्मीले राष्ट्रिय अर्थतन्त्रको आकार ३९ खर्ब, ४३ अर्ब ६६ करोड पुगेको जानकारी दिएका छन् ।
तथ्याङ्क विभागले आधार वर्षमा परिमार्जन गरी सार्वजनिक गरेको विवरण अनुसार नेपालको अर्थतन्त्रको आकार ४० खर्ब नजिक पुगेको हो । नेपालमा यसअघि सन् २०००/०१ लाई आधार वर्ष मान्ने गरिएकोमा नयाँ निर्णय अनुसार अबदेखि सन् २०१०/११ लाई राष्ट्रिय तथ्याङ्क गणनाको आधार वर्ष मानिनेछ ।
नयाँ आधार वर्ष अनुसार नेपालको कुल ग्राहस्थ उत्पादन (जिडिपी) १४.७ प्रतिशतले वृद्धि भएको छ ।१० वर्षभित्र थप भएका अर्थतन्त्रका अवयव र राष्ट्रिय लेखामा छुटपुट भएका तथ्याङ्कहरु समेतलाई समेट्दा कुल ग्राहस्थ उत्पादनको आकार बढेको रेग्मीको भनाइ थियो ।
उनका अनुसार नेपालले प्रत्येक १० वर्षमा आधार वर्ष परिवर्तन गर्दै आएको छ । नेपालले यसअघि सन् १९६४/६५, सन् १९८४/८५, सन् १९९४/९५ र २०००/२००१ मा आधार वर्ष मानेर लेखा तयार पारेको र यसपटकको परिवर्तन पाँचौं भएको पनि रेग्मीले जानकारी दिए । नेपालमा जनगणना, कृषि गणनादेखि अधिकांश गणना १०/१० वर्षको अवधिमा हुने र नयाँ तथ्याङ्क आउनासाथ आधार वर्षमा परिमार्जन गर्नसमेत सहज हुने रेग्मीको भनाइ छ ।
विभागका अनुसार आधार वर्षमा गरिएको परिवर्तनका कारण अर्थतन्त्रका नयाँ–नयाँ गतिविधिहरु पनि राष्ट्रिय लेखामा आबद्ध भएको छ । अघिल्लो आधार वर्षको तुलनामा रियल इस्टेटको वृद्धि ४७.९७ प्रतिशत देखिएको छ । शिक्षा क्षेत्रमा समेत वृद्धि भएको छ । तर, स्वास्थ्य क्षेत्रमा भने जीडीपी ऋणात्मक देखिएको छ ।
त्यस्तै खानी तथा उत्खनन क्षेत्रमा २२.५५ प्रतिशत, इलेक्ट्रिसिटी, ग्यास र पानीमा ४६.८२, होलसेल तथा रिटेल व्यापारमा २३.१४ प्रतिशत र होटेल क्षेत्रमा १६.४० प्रतिशत वृद्धि देखिएको छ ।
कतिपय छुटपुट भएका क्षेत्र लेखाको दायरामा आउनु र कतिपय संरचनात्मक परिवर्तनका कारण पनि आकारमा वृद्धि देखिएको निर्देशक रेग्मीले बताए ।
