Notification

×

Iklan

Iklan

नेकपाको एकता जोगाउन ‘अन्तिम कसरत’

Thursday, March 4, 2021 | March 04, 2021 WIB Last Updated 2021-12-30T03:23:42Z

 बेनी 

फागुन २०



फाइल तस्वीर


रजनीतिक रुपमा विभाजित तर, कानुनी रुपमा एउटै अवस्थाको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीलाई पहिलेजस्तै एकढिक्का बनाउन ‘अन्तिम कसरत’ शुरु भएको छ । नेकपाको ओली र प्रचण्ड–नेपाल खेमाका दोस्रो तहका नेताहरुबीच भएको भेटले यस्तैखाले कसरततिर सङ्केत गरेको छ ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल र पूर्वमन्त्री घनश्याम भुषालबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको छ । उनीहरु क्रमशः ओली र प्रचण्ड–नेपाल खेमामा देखिएका छन् ।


गत पुस ५ गते प्रतिनिधि सभा विघटन हुनु अघिसम्म कुनै न कुनै रुपमा संवादमा रहेका पोखरेल र भुषालको प्रयासलाई सत्तारुढ नेकपाको एकता जोगाउने ‘अन्तिम कसरत’का रुपमा हेरिएको हो । 


फागुन २३ गते बस्ने पुनर्स्थापित प्रतिनिधि सभाको बैठकका लागि रणनीति बुन्दै गरेका नेकपाको दुई खेमाबीच आधिकारिक पार्टीको दावी गर्नेदेखि निर्वाचन आयोगमा पुगेर एकअर्कालाई ‘कारवाही गरिएको’ जानकारी गराउने क्रियाकलाप जारी छ । 


एकातिर संसदीय भिडन्तको रणनीति, अर्कातिर पार्टीलाई पुरानै अवस्थामा फर्काउने कसरतमध्ये कुन पक्ष हावी हुन्छ भन्ने कुरा सम्भवतः केही दिनमै स्पष्ट हुनेछ । 





यसअघि सञ्चारकर्मीसँग बोल्दै नेकपा उपाध्यक्ष वामदेव गौतमले ओली र दाहालले नमाने ‘घेराबन्दी गरेर भए पनि’ एकताको बाटोमा ल्याइने विश्वास व्यक्त गरेका थिए । 


उता, प्रचण्डको विश्वास पात्रका रुपमा चिनिएका पूर्वमन्त्री जनार्दन शर्माले पार्टी एकता बचाउन दोस्रो तहका नेता र जनप्रतिनिधिहरुले तटस्थ भएर छलफलमा बस्न आग्रह गरिसकेका छन् ।


प्रतिनिधि सभाको विघटनपछिका राजनीतिक घटनाक्रमहरुले सत्तारुढ नेकपाको शीर्ष नेतृत्व तहमा तिक्तता बढेको छ । प्रतिनिधि सभाको पुनर्स्थापना भएको भोलिपल्टै प्रचण्ड र माधव नेपालले नेपाली कांग्रेसलाई सरकारको नेतृत्वका लागि आग्रह गरिसकेका छन् ।


यस्तो परिस्थितिमा भुषाल, पोखरेल, शर्मा र महेश बस्नेतहरुको भेटघाट र छलफलको परिणाम कस्तो आउँछ, अहिल्यै भन्न सकिने अवस्था छैन । 


बिहीबारको भेटबारे सञ्चारकर्मीमाझ पूर्वमन्त्री घनश्याम भूषालले दिएको उत्तरले पनि त्यस्तै सङ्केत गर्छ । उनले भनेका थिए, “राजनीतिमा असम्भव भन्ने केही हुँदैन। यस्तो छलफल पहिले पनि हुने गरेको थियो ।” 


नेताहरुले राजनीतिलाई सम्भावनाको खेल बताइरहँदा नेकपाका कार्यकर्ता भने शीर्ष नेतृत्वले विश्राम लिएर भए पनि पार्टी एकता जोगाउनुपर्ने बताइरहेका छन्  । श्रमजीवी जनताको पक्षमा काम गरेको दावी गर्ने नेताहरुले कार्यकर्ताको भावनाअनुसार सहअस्तित्वको भावनालाई जोगाउलान् वा आफै हार्ने बाटोमा लाग्लान् त्यो केही दिनमा स्पष्ट हुनेछ ।



×
Berita Terbaru Update