बेनी
फागुन २१
प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्च साझेदारी गर्न लागेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का महासचिव नेत्रविक्रम चन्द नवलपरासीबाट सार्वजनिक भएका छन् । सरकारसँग भएको वार्ता सफल भएसँगै सहमतिपत्रमा हस्ताक्षर गर्न र प्रधानमन्त्रीसँग एउटै मञ्चबाट भाषण गर्ने गरी विप्लव सार्वजनिक भएका हुन् ।
सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नवलपुर (बर्दघाट–सुस्तापूर्व) को दलदलेबाट विप्लव सार्वजनिक भएका हुन्।
नवलपरासीमा सार्वजनिक भएका विप्लवलाई काठमाडौं हिँड्दै गर्दा नवलपरासीका पार्टी कार्यकर्ता र शहीद परिवारले स्वागत गरेका छन् ।
विप्लवसम्बद्ध पत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेका अनुसार विप्लवले शहीद परिवारलाई भेटेर काठमाडौं लागेका छन् । विप्लवलाई लिनका लागि सरकारले हेलिकप्टर तयारी अवस्थामा राखेको भए पनि उनी गाडीबाटै काठमाडौंतिर लागेको र अपराह्न त्यहाँ पुग्ने डुम्रेले बताए ।
सहमतिपत्रमा हस्ताक्षर गरेपछि आज दिउँसो २ बजे प्रधानमन्त्री ओली र महासचिव विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय भैसकेको छ ।
