बेनी
चैत १५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँगै वायू प्रदूषण बढेकाले अति आवश्यक कामबाहेक घर बाहिर ननिस्कन सबैलाई अनुरोध गरेको छ । वायू प्रदूषणले स्वास्थ्यमा विविध स्वास्थ्य समस्या देखापर्न सक्ने भएकोले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र निस्कनै पर्ने अवस्था भए मास्कको प्रयोग गर्न र शरीर पूरै ढाकिने गरी लुगा लगाएर मात्र निस्कन मन्त्रालयले आह्वान गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले वायू प्रदूषणले मानव स्वास्थ्यमा तत्कालीन र दीर्घकालीन गम्भीर असर पर्न सक्ने सम्भावना रहेको जानकारी दिए । प्रदूषणले आँखा चिलाउने र पोल्ने, छाला चिलाउने, श्वासप्रश्वासमा गाह्रो हुने समस्या बढेको छ । साथै दीर्घकालीनरुपमा मुटु र फोक्सोको समस्या बढ्ने, स्नायु प्रणालीमा असर पर्ने बालबालिकाको वृद्धिविकासमा असर गर्ने र क्यान्सरको समस्या हुन सक्ने अधिकारी बताएका छन् ।
प्रदूषणबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै उनले भने, “प्रदूषित वातारण थप बढ्न नदिन जिम्मेवार निकाय र व्यक्तिले गर्नुपर्ने भूमिका महत्वपूर्ण छ । यस्तो बेला अनावश्यक गाडी प्रयोग नगर्ने, वैकल्पिक ऊर्जाको प्रयोग बढाउने, प्रदूषण कम हुने अन्य वैकल्पिक उपाय अपनाउने, विकास निर्माणका काममा धुलो कम हुने उपाय अवलम्बन गर्ने । त्यसो गर्ने सके बस्न योग्य वातावरण हुनेछ ।”
वायू प्रदूषण केही समय रहने
देशका विभिन्न ठाउँमा देखिएको तुवाँलो र बढेको वायू प्रदूषणको स्तर केही समयसम्म रहन सक्ने देखिएको मौसम विज्ञान विभागले जानकारी दिएको छ । मौसम यस्तै भइरहे केही समयसम्म प्रदूषण यस्तै रहने वा अझै खराबसमेत हुने सम्भावना रहेको विज्ञहरुले बताएका हुन् ।
वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर पर्नसक्छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दम खोकी जस्ता श्वासप्रश्वास सम्बन्धी विरामी र मुटुका रोगीहरु बढी प्रभावित हुने भएकाले विभागले विशेष सावधानी अपनाउन सबैमा अपिल गरेको छ ।
विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले सकेसम्म सबै उमेर समूहका नागरिकलाई सम्भव भएसम्म घर बाहिर नकिस्कन, निस्कनैपर्ने अवस्थामा विशेष सावधानी अपनाउन आग्रह गरे । आगो बाल्दासमेत वायू प्रदूषण झनै बढ्ने भएकाले फोहरलाई जलाउने र खुलारुपमा आगो बाल्ने कार्य नगरिदिन, विद्युतीय सावारी साधन बाहेकका अन्य सवारी साधन कम प्रयोग गर्न विभागले आग्रह गरेको छ ।
शुक्रबारयता काठमाडौँ उपत्यकालगायतका स्थानको वायु प्रदूषण सूचक (एक्यूआई) ३०० को हाराहारी रहेको छ । विभागका अनुसार मानव स्वास्थ्यका लागि शून्यदेखि ५० सम्मको एक्यूआइ राम्रो, ५० देखि १०० सम्म सामान्य तथा १०० देखि माथिको तहलाई स्वास्थ्यका लागि हानिकारक मानिन्छ ।
प्रमुख कारण डढेलो
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । अहिले नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ । विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै तीन दिनदेखि नेपाल तथा भारतका केही स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिए । उनका अनुसार मौसम सफा हुन डढेलो कहिले नियन्त्रणमा आउँछ भनेर अनुमान गर्न सकिने अवस्था छैन ।
