Notification

×

Iklan

Iklan

बर्सेनि कहाँ फालिन्छ ९० करोड टन खाने कुरा ?

Tuesday, March 9, 2021 | March 09, 2021 WIB Last Updated 2021-12-30T03:23:35Z

 बेनी 

फागुन २६




विश्वमा प्रत्येक वर्ष ९० करोड टनभन्दा धेरै खाद्यपदार्थ खेर फाल्ने गरिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्रसंघको वातावरण कार्यक्रम फुड वेस्ट इन्डेक्सले पसल, घर र रेस्टुराँहरूमा उपभोक्ताको निम्ति उपलब्धमध्ये १७ प्रतिशत खानेकुरा सिधै फोहर फालिने भाँडोमा जाने गरेको देखाएको हो ।


त्यरी फ्याँकिने मध्ये करिब ६० प्रतिशत खाद्यपदार्थ घरबाट निस्किने गरेको पनि अध्ययनले देखाएको छ । तर, कोरोना महामारीका कारण शुरु भएको लकडाउनका बेला भने आश्चर्यजनक रुपमा कम खानेकुरा पाइएको अध्ययनमा उल्लेख छ ।




संयुक्त राष्ट्र संघको साझेदार सङ्गठन वेस्ट एन्ड रिसोर्सेस एक्शन प्रोग्र्याम (डब्ल्यूआरएपी) ले आफ्नो प्रतिवेदनमा मानिसहरूले थप सावधानीपूर्वक खाना र किनमेलबारेको योजना बनाउन थालेको उल्लेख गरेको छ । उक्त प्रतिवेदनमा त्यो प्रयासको निम्ति भान्साबाट निस्किने फोहर घटाउने बानीको विकास गर्न पनि अभिप्रेरित गरिएको छ ।


डब्ल्यूआरएपीका रिचर्ड स्वानेलका अनुसार प्रतिवेदनले विश्वव्यापी समस्यालाई उजागर गरेको छ जुन पहिले अनुमान गरेभन्दा धेरै ठूलो छ । उनले भने, “प्रत्येक वर्ष ९२ करोड ३० लाख टन खाद्य पदार्थ खेर जान्छ । ४० टन क्षमताको ट्रकमा लादेर लैजाँदा त्यो दुई करोड ३० लाख खेप हुन्छ । 


पहिले यो मुद्दालाई विशेषगरी धनी देशको समस्याको रूपमा लिइन्थ्यो । जहाँ उपभोक्ताहरूले आफूले खानेभन्दा धेरै किन्छन् । तर यो अनुसन्धानले ‘जताततै पर्याप्त खानेकुरा खेर जाने गरेको’ देखाएको छ ।





न्यून र उच्च आय भएका देशहरूबीच कुन तहमा समस्या फरक छ भन्ने कुरा खुट्याउन नसकिने अवस्था भएको निष्कर्ष पनि उक्त प्रतिवेदनले दिएको छ ।

यूएनईपीकी मार्टिना ओट्टोका विचारमा खाद्य र अखाद्य पदार्थ छुट्ट्याउने तथ्याङ्क उच्च आय भएका देशहरूमा मात्र थियो र कम आय भएका देशहरूमा खान उपयुक्त पदार्थ निकै कम खेर फालिने सम्भावना छ ।


“तर अन्तिम निष्कर्ष के हो भने विश्वले खानेकुरा बनाउन प्रयोग हुने सबै खाले पदार्थ खेर फ्याँकिरहेको छ,” उनले भनिन् ।


खेर जाने खाद्यपदार्थ कम गर्न विज्ञहरूले ठिक मात्रामा किन्ने योजना बनाउने, खाना पकाउने बेला आवश्यक मात्रा नाप्ने, फ्रिजको चिसोपना बढाउने लगायतका सुझाव दिएका छन् ।


डब्ल्यूआरएपीको अनुसन्धानका अनुसार आफूले खाने जतिमात्रै किन्ने हो भने संयुक्त अधिराज्य (यूके)मा मात्रै औसत रूपमा हरेक घरले प्रत्येक वर्ष ७०० पाउन्ड बच गर्न सक्ने देखिएको छ ।


जैविक विविधता र जलवायु परिवर्तनबारे यस वर्ष हुने एउटा प्रमुख सम्मेलनअघि यूएनईपीका कार्यकारी निर्देशक इन्गर एन्डरसनले सन् २०३० सम्ममा खेर फालिने खाद्यपदार्थ आधामा झार्न देशहरूलाई दबाव दिँदै छिन् ।


उनी भन्छिन्, “यदि हामी जलवायु परिवर्तन, प्रकृति र जैविक विविधतामा क्षति अनि प्रदूषण र खेर फालिने पदार्थबारे गम्भीर हुने हो भने विश्वभरिका सरकार, व्यापारी र नागरिकले खाद्य फोहर कम गर्न आआफ्नो भागको काम गर्नुपर्छ ।”


लकडाउनको प्रभाव र सम्भावना

डब्ल्यूआरएपीको अनुसन्धान अनुसार लकडाउनका बेला खाना पकाउँदा, योजना बनाउँदा अनि भण्डारण गर्दा अपनाइएको सावधानीले सन् २०१९ को तुलनामा मानिसहरूले फ्याँक्ने खाद्य पदार्थको मात्रा २०२० मा २२ प्रतिशतले कम भएको पाइएको छ ।


उक्त संस्थाले भनेको छ, “तर पछिल्लो विवरणअनुसार लकडाउनबाट हामी फेरि निस्किएकाले खेर फाल्ने क्रम फेरि बढ्ने देखाएको छ।”


त्यसविरुद्ध चर्चित कुक र शेफहरूले आफूलाई अघि सारेका छन् ।


ब्रिटिश टीभी कुक नादिया हुसैनले डब्ल्यूआरएपीसँग मिलेर काम गरिरहेकी छन् । उनले त्यसका उपायहरू इन्स्टाग्राममार्फत् सुझाउने गरेकी छन् । 


त्यस्तै इटलीका रेस्टुराँ व्यवस्थापक तथा शेफ मासिमो बोटुरा फ्याँकिने खाद्यपदार्थ विरुद्ध र त्यो कम गर्ने अभियानको निम्ति यूएनईपीको सद्भावना दूत नियुक्त भएका छन् ।


इटलीमा लकडाउनभरि उनको परिवारले किचेन क्वारेन्टिन नाम दिएर अनलाइनबाट भान्सा चलाएका थिए। त्यसको उद्देश्य हरेक खाद्य सामानमा अदृष्य सम्भावना रहेको कुरा हेर्न मानिसहरूलाई प्रेरित गर्नु थियो ।


दशौं लाख टन खाद्यान्न फ्याँकिदै गर्दा सन् २०१९ मा अनुमानित ६९ करोड मानिस भोकमरीबाट प्रभावित भएका थिए। महामारीका कारण उक्त संख्या निकै बढ्ने ठानिएको छ ।


यूएनईपीका कार्यकारी निर्देशक इन्गर एन्डरसनले खाद्यपदार्थ खेर जाने क्रममा गरिने नियन्त्रणबाट हरितगृह ग्यास उत्सर्जनमा कटौती गर्न, भूमि संरक्षण भएर प्राकृतिक विपद् र प्रदूषण सुस्त गर्न, भोकमरी कम गर्न र विश्वव्यापी मन्दीका बेला पैसा जोगाउन सकिने औँल्याएकी छन् ।


बिबिसी विश्वसेवाको सहयोगमा


×
Berita Terbaru Update