बेनी
फागुन २३
कोरोना भाइरसको महामारी ओरालो लागेसँगै जनजीवन सामान्य बन्दै छ । महिनौंसम्म बन्द रहेका सार्वजनिक यातायात, विद्यालय, सिनेमा हलमा लगाइएको प्रतिबन्ध खुला भएको छ ।
यसैबीच कोरोना महामारीपछि म्याग्दीमा पहिलोपटक दोहोरीगीत प्रतियोगिता आयोजना गरिएको छ । राष्टिय लोकदोहोरी गीत प्रतिष्ठान म्याग्दीले शनिबार सदरमुकाम बेनीमा दोहोरीगीत प्रतियोगिता आयोजना गरेको हो ।
उक्त प्रतियोगितामा हिरा किसान, निशा भण्डारी र खिमा पुनले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरेको आयोजकले जानकारी गराएको छ ।
विजयी प्रतिस्पर्धीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा प्रथम हुन सफल हिरा किसान र पुरुषतर्फबाट उत्कृष्ट हुन सफल बलबहादुर परियारलाई प्रदेश स्तरीय दोहोरीगीत प्रतियोगितामा सहभागिताको लागि समेत छनौट गरिएको प्रतिष्ठानका जिल्ला सचिब पदम विश्वकर्माले जानकारी दिएका छन् ।
प्रतिष्ठानका जिल्ला अध्यक्ष देवेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले उत्कृष्ट प्रतिभाको पहिचान गर्न प्रतियोगिताले सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । म्याग्दी जिल्लालाई मौलिक लोकभाकाको खानी बताउँदै अध्यक्ष कटुवालले यसको संरक्षणमा सबैको चासो जानुपर्ने आवश्यकता औंल्याएका थिए ।
प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य एवं पूर्व गण्डकी प्रदेश संयोजक तारापति सुवेदी, पूर्व प्रदेश कमिटी सदस्य अमित विश्वकर्मा लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रम प्रथम उपाध्यक्ष ध्रुव जिसीको स्वागत र सचिव पदम विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।