बेनी
चैत १
म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्रा राष्ट्रिय स्तरको लेखन प्रतियोगितामा छनोट भएकी छिन् । फागुन २८ गते पोखरामा सम्पन्न गण्डकी प्रदेशस्तरीय लेखन प्रतियोगितामा तेस्रो बनेकी प्रतीक्षा केसी राष्ट्रिय स्तरको लेखन प्रतियोगितामा समेत छानिएकी हुन् ।
रघुगङ्गा गाउँपालिका–२, भगवती घर भई हाल म्याग्दी क्याम्पसमा बि.एड. तेस्रो वर्षमा पढ्दै गरेकी केसी यसअघि म्याग्दीको मङ्गला गाउँपालिकाले आयोजना गरेको जिल्ला स्तरीय लेखन प्रतियोगितामा प्रथम भएको अतिरिक्त क्रियाकलाप विभाग प्रमुख नारायण पौडेलले जानकारी दिएका छन् ।
![]() |
म्याग्दी बहुमुखी क्यापस परिसर |
गण्डकी प्रदेश सरकार र राष्ट्रिय यूवा परिषदले संयुक्तरुपमा आयोजना गरेको ‘समृद्धिका लागि यूवा सोच’ विषयक लेखन प्रतियोगिताका विजेताहरुलाई सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कँवरले पुरस्कार वितरण गरेका थिए ।
पुरस्कार वितरण समारोहमा महाशाखा प्रमुख तेजप्रसाद काफ्ले, कार्यक्रमका सहजकर्ता चन्द्रकुमारी थापालगायतको सहभागिता रहेको केसीले जानकारी दिएकी छिन् ।
“जिल्ला र प्रदेशमा प्राप्त गरेको नतिजाले मेरो आत्मविश्वास बढाएको छ,” राष्ट्रिय स्तरको लेखनमा छानिएकोमा खुशी व्यक्त गर्दै केसीले भनिन्, “शिक्षकहरुको सहयोग र आफन्तको सहि मार्गनिर्देशनले नै मलाई यहाँसम्म ल्याएको हो ।”