बेनी
फागुन १८
प्रतिनिधि सभा विघटन, नेकपा विवाद, सर्वोच्च अदालतको फैसला जस्ता विषयमा केन्द्रित भएको नेपालको राजनीतिमा आज नयाँपन आएको छ । सरकार र प्रतिबन्धित अवस्थाको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) बीच वार्ताटोली गठन भएपछि यस्तो नयाँपन महशुस भएको हो ।
खासगरी प्रतिनिधि सभा विघटनपछि विवादित नेकपाको दुबै धार, विपक्षी नेपाली कांग्रेसलगायतका दलहरुको सडक हुँदै सत्तातर्फ डोरिन लागेको नेपाली राजनीति संवादको बाटोमा लागेको अड्कलबाजी हुन थालेको छ ।
आज सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा र विद्रोही नेकपाले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा वार्ता टोली गठन गरेसँगै नेपाली राजनीतिमा संवाद र सहमतिको शृङ्खला शुरु भएको हो ? भन्ने अड्कलबाजी शुरु भएको छ ।
आन्तरिक किचलोका कारण सत्तारुढ नेकपा विग्रह नजिक पुगेको, सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना हुने फैसला सुनाएको र प्रतिनिधि सभाको बैठक शुरु हुन केही दिन बाँकी रहँदा सरकार र प्रतिबन्धित नेकपा (विप्लव) द्रुतगतिमा वार्ताको टेबलमा बस्न लागेका हुन् ।
सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले आज सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी वार्ता टोली गठनको जानकारी गराएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भने, ‘सबै सशस्त्र समूह र द्वन्द्वमा रहेका सबैलाई शान्तिपूर्ण बाटोमा ल्याउन नेपाल सरकारले आफ्नो स्पष्ट दृष्टिकोण राख्दै आएको छ । त्यही दृष्टिकोणका आधारमा आजको वार्ता टोली गठन गरिएको हो।’ विद्रोही पार्टीका राजनीतिक लगायतका सबैखाले मागहरु वार्ताको टेबलमा सम्बोधन गरिने पनि मन्त्री गुरुङले बताएका छन् ।
उता नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले पनि वार्ता टोली गठन गरिएको आधिकारिक विज्ञप्ति आजै सार्वजनिक गरेको छ । वार्ता टोली गठनको रफ्तारले दुबै पक्ष छिटै नै वार्ताको टेबलमा बस्न लागेको जानकारहरुको भनाइ छ ।
२०५२ सालदेखि शुरु भएको माओवादी युद्धमा सहयोद्धा रहेका बादल र प्रकाण्ड वार्ताको टेबलमा आमनेसामने हुनेछन् । कुनैबेला लडाइँको मोर्चामा सहयोद्धा बनेका बादल र प्रकाण्डले वार्तालाई सफलताको विन्दुमा पुर्याउलान् ? यो भने अहिलेका लागि प्रतीक्षाकै विषय हुनेछ ।
तराइमा पृथकतावादी आन्दोलन चलाइरहेका डा. सिके राउतको संगठनलाई पनि सरकारले यसअघि वार्ताको टेबलमार्फत् शान्तिपूर्ण राजनीतिमा ल्याइसकेको छ ।



