बेनी
फागुन १९
म्याग्दीबाट जिल्ला प्रशासन काठमाडौंमा सरुवा भएका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले सिडिओका रुपमा म्याग्दीको छोटो समयको बसाइलाई कहिल्यै नभुल्ने बताएका छन् । मङ्गलबार बिहान आफ्नै कार्यकक्षमा आयोजित जिल्लाका सरोकारवालासँगको भेटमा अधिकारीले उक्त विचार व्यक्त गरेका हुन् ।
“६ महिना म्याग्दीको सिडिओका रुपमा काम गर्न पाएकोमा म निकै खुशी छु,” गत भदौदेखि आफुले गरेको कामको विवरण प्रस्तुत गर्दै प्रजिअ अधिकारीले भने, “म्याग्दीका मान्छे मनकारी हुन्छन् भन्ने सुनेको थिएँ, सिडिओका रुपमा आफैले अनुभव गरेर फर्किंदैछु ।”
राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पत्रकार, व्यवसायी, सुरक्षा निकायका अधिकारीलगायतको सहभागिता रहेको विदाइ भेटमा बोल्दै अधिकारीले आफू बेनी आउँदा लकडाउनको अवस्था रहेको र अहिले फर्किने बेला कोरोना खोपको दोस्रो चरण शुरु हुन लागेकोमा सन्तोष व्यक्त गरे । जिल्ला तहमा होल्डिङ सेन्टरको अवधारणा नयाँ भए पनि म्याग्दीमा सफल बनेको, अवरुद्ध अवस्थामा रहेका विकासका काम अघि बढाइएको, डोजरको प्रयोगमा वातावरणीय अध्ययनको अनिवार्यता र बिम र मराङका पहिरोपीडितलाई घरमै पुगेर सरकारी राहत उपलब्ध गराउने लगायतका काम भएको प्रजिअ अधिकारीले जानकारी दिएका थिए ।
संविधान सभाका सदस्य गोविन्द पौडेल, जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र कटुवाल, बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाललगायतको सहभागिता रहेको भेट टुङ्ग्याउँदै प्रजिअ अधिकारीले भने, “मदिरा नियन्त्रण, घरेलु हिंसाविरुद्ध जनचेतना विस्तार, विपद् व्यवस्थापनमा स्थानीय यूवाहरुलाई तालिम र जनचेतनामूलक कार्यक्रम सञ्चालन र म्याग्दीका बस्तीहरुको भौगर्भिक अध्ययनको विषयमा काम शुरु हुन सकेन । यसलाई यहाँहरुले अघि बढाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।”
म्याग्दीका जनप्रतिनिधि, सामाजिक क्षेत्रका अगुवा, सञ्चारकर्मी, सुरक्षाकर्मी सबैको समन्वयमा आफुलाई काम गर्न सहज भएको बताउँदै अधिकारीले म्याग्दीको भूगोल, यहाँको संस्कृति र सभ्यता निकै उत्कृष्ट रहेको धारणा सुनाएका थिए । आफ्नो मन्तव्यको अन्त्यतिर निकै भावुक सुनिएका अधिकारीले आफू जहाँ पुगे पनि म्याग्दीको हितका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका थिए ।
सो अवसरमा बोल्दै सहभागीहरुले छोटो समयको बसाइमा पनि कोरोना रोकथाम र विकासका काममा सहजीकरण गर्न तुलनात्मक रुपमा सफल भएको भन्दै अधिकारीको पेशागत एवं व्यक्तिगत जीवनमा सफलताको कामना गरेका थिए ।