बेनी
फागुन १९
म्याग्दीमा ठूलो परिमाणको गाँजासहित समातिएका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । मालिका गाउँपालिका–२ रुमबाट पक्राउ परेका स्थानीय भिरखर्कका ३४ वर्षीय होमबहादुर पुन र ६३ वर्षीय हर्कबहादुर रोकालाई सार्वजनिक गरिएको हो ।
प्रहरी नायव उपरीक्षक श्यामकुमार राईका अनुसार रुम गाउँका दुबै जनाबाट ३३ किलो ७ सय ग्राम गाँजा बरामद गरिएको थियो । बरामदमध्ये होमबहादुर पुनलाई १२.८५० किलोग्राम र हर्कबहादुर रोकालाई २०.९०० किलोग्राम गाँजासहित समातिएको हो ।
ईलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले फागुन १३ गते मालिका गाउँपालिका–२ रुम भिरखर्कका होमबहादुर पुन र डाँडागाउँका ६३ वर्षीय हर्कबहादुर रोकालाई पक्राउ गरेको प्रनाउ राईले जानकारी दिए । उनीहरुबाट गाँजासहित गाँजा बनाउन आवश्यक सामग्री समेत बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लागू औषध नियन्त्रण ऐन अनुसार जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान भैरहेको पनि राईले जानकारी दिएका छन् । ‘लागू औषध नियन्त्रण ऐन–२०३३’ अन्तर्गत दश किलोग्रामदेखि माथि गाँजासहित पक्राउ परेमा दुई वषदेखि १० वर्षसम्म कैद सजाय र १५ हजारदेखि १ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
जडिबुटीजन्य औषधिका रुपमा तोकिएअनुसार गाँजाको प्रयोगमा अनुमति दिइनुपर्ने भन्दै सांसदहरु शेरबहादुर तामाङ, विरोध खतिवडालगायतले बहसपैरवी गर्दै आएका छन् । तर, यसले कानुनी मान्यता पाउन सकेको छैन ।
