बेनी
फागुन २२
नेपाल मगर विद्यार्थी संघको ११औं विस्तारित भेला यही फागुन २७ र २८ गते बेनीमा हुने भएको छ । संघले शनिबार सदरमुकाम बेनीमा पत्रकार भेटमार्फत् यस्तो जानकारी गराएको हो ।
पत्रकारसामु बोल्दै संघका अध्यक्ष विष्णुकुमार थापाका अनुसार कार्यक्रमको पहिलो दिन फागुन २७ गते जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन सत्र आयोजना हुनेछ ।
देशभरबाट झण्डै ४०० प्रतिनिधि सहभागी हुने उक्त भेलाले मगर विद्यार्थीहरुको शैक्षिक उत्थान, राजनीतिक र आर्थिक विकास लगायतका संस्कृति संरक्षणसँग सम्बन्धित विभिन्न विषयमा गम्भीर छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ ।
“मातृभाषामा पठनपाठन, निशूल्क उच्च शिक्षाको व्यावहारिक कार्यान्वयन, स्वायत्त विश्व विद्यालय स्थापना, शैक्षिक गुणस्तर सुधार र रोजगारमूलक शिक्षा, लोक सेवा आयोगको विज्ञापनलाई समावेशी बनाउने जस्ता समसामयिक विषयमा छलफल गरी निष्कर्षमा पुग्छौं,” अध्यक्ष थापाले भने ।
संघका महासचिव प्रेम रोका मगरका अनुसार २०५१ साल फागुन २७ गते मगर विद्यार्थी संघ स्थापना भएको २५औं वर्षका अवसरमा गत वर्ष नै बेनीमा रजत जयन्ती विशेष समारोह र विस्तारित बैठकको तयारी गरिएको थियो । तर, कोरोना भाइरसको सन्त्रासका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गर्नुपरेको हो ।
कार्यक्रम सम्पन्न गर्न ६ देखि ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र यसका लागि आर्थिक संकलनलगायतका काम शुरु भएको पनि महासचिव रोकाले जानकारी दिए ।